धादिङ २४ आषाढ
धादिङको नीलकण्ठ बहूमुखी क्याम्पसकी विद्यार्थी विवेचना सिलवाल त्रिभुवन विश्वविद्यालयद्धारा गत भाद्रमा लिइएको स्नातक तह प्रथम वर्षको शिक्षाशास्त्र सङ्कायको परीक्षामा नेपाल प्रथम भएकी छिन् । शिक्षाशास्त्र संकाय अन्तरगत अङ्ग्रेजी विषय अध्ययनरत सिलवाल ४ सय २५ अङ्क तथा ७०.८३ प्रतिशत सहित नेपाल प्रथम भएकी हुन् । सोही तहमा अध्ययनरत नीलकण्ठ बहूमुखी क्याम्पसकै हिरालक्ष्मी श्रेष्ठ कुल ४ सय ९ अङ्क तथा ६८.१६ प्रतिशत सहित नेपाल तृतीय भएकी छन् । नीलकण्ठ बहूमुखी क्याम्पसबाट नेपाल प्रथम भएको यो पहिलो पटक भएको क्याम्पस प्रमुख नवराज शर्माले बताउनु भयो । नीलकण्ठ बहूमुखी क्याम्पसले हालसालै मात्र QAA प्रमाणपत्र प्राप्त गरेको छ । नीलकण्ठ क्याम्पसमा स्नातक तहमा शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी तथा स्नातकोत्तर तहमा शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायको पठनपाठन भइरहेको छ । नीलकण्ठ बहूमुखी क्याम्पस धादिङकै पहिलो सामुदायिक क्याम्पस हो ।
प्रतिक्रिया दिनुहोस