धादिङ २३ आषाढ
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र देखिएको बिबाद आन्तरिक रुपमै समाधान गर्नुपर्ने र पार्टी एकताको सन्देश दिनुपर्ने भन्दै दबाब स्वरुप नेकपा निकट भात सङ्गठनहरुले मङ्गलबार नेकपा धादिङका अध्यक्षलाई ज्ञापन पत्र बुझाएका छन् । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल किसान संघ र प्रेस सङ्गठन धादिङले संयुक्त रुपमा नेकपा धादिङका अध्यक्ष नेत्र पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । तत्कालीन एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीच चुनावी समिकरणबाट जनताले २ तिहाइ मत दिइ नेकपा पार्टी एकीकरण भएर सरकार सञ्चालन गरिरहेको यो अवस्थामा आफ्नो मूलभूत दायित्व पुरा गर्न छोडेर सरकार र पार्टी आन्तरिक विवादमा रुमलिन थालेको, सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको, पार्टी एकताले पूर्णता नपाएको भन्दै भात सङ्गठनहरुले नेकपा नेतृत्वलाई पार्टी बिभाजनको दिशामा नलागी जनचाहना अनुरुप काम गर्न खबरदारी समेत गरिएको छ । ज्ञापन पत्रमा बिधान, बिधि र मूल्य अनुसार पार्टी र नेतृत्व संस्थागत रुपमा चल्नुपर्ने भन्दै व्यक्ति विधान र सङ्गठनको मातहत रहने स्थापित मान्यताबाट बिचलित नहुन समेत नेतृत्वलाई खबरदारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस