धादिङ २२ आषाढ
हिमालयन बैंक शाखा कार्यालय धादिङ र धादिङ सोसियल भोलेन्टियर नेपालको सहकार्यमा सोमबार धादिङ अस्पताल परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । हिमालयन बैंक धादिङले सामाजिक उत्तरदायित्व बहन गर्दै रु. ५० हजार बराबरको १३ वटा फलामको विरुवा संरक्षण गर्ने केस उपलब्ध गराएको थियो भने धादिङ सोसियल भोलेन्टियर नेपालले रङरोगन, विरुवा खरिद, बिरुवा ढुवानी र पारिश्रमिक गरी २६ हजार ५ सय लगानी गरेको थियो ।
जिल्ला अस्पताल परिसरलाई स्वच्छ, वातावरणमैत्री, हरितगृह बनाउने उद्देश्य अनुरुप सो कार्यक्रम आयोजना गरिएको धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनु भयो । आगामी दिनमा विभिन्न संघ र अस्पताल प्रशासनसँगको सहकार्य धादिङ अस्पताल परिसरभित्र व्यवस्थित फूलबारी निर्माण गर्ने, सरसफाइ र रङरोगनका कार्यक्रमहरुलाई निरन्तरता दिई नमूना अस्पताल बनाउनको लागि धादिङ सोसियल भोलेन्टियर नेपालले हातेमालो गर्दै जाने प्रतिबद्धता समेत अध्यक्ष श्रेष्ठले जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस