धादिङ १९ आषाढ
नीलकण्ठ नगरपालिका वडा नं. ९ का किसानहरु चिया खेतीतर्फ आकर्षित भएका छन् । पहाडी, भिरालो र बाझो जमिनलाई सदुपयोग गरी आधुनिक कृषि प्रणालीलाई आत्मसात गर्ने उद्देश्यका साथ किसानहरुलाई चियाको बिरुवा वितरण गरिएको हो । एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत नगरपालिकाले करिब ३ सय किसानहरुका लागि ५० हजार चियाको बिरुवा शुक्रबार वितरण गरेको हो । नगरपालिकाले करिब ८ लाख रुपैँया खर्च गरेर इलामको एक नर्सरीबाट गुम्ती ७८ जातको चियाको बिरुवा ल्याएको हो । यसले रोपेको ४ बर्ष पछि उत्पादन दिने बताइएको छ । कृषिमा आधारित रहेका नीलकण्ठ ९ का कृषकहरु चियाको बजार मूल्य पनि राम्रो हुने भएकाले यस पेशातर्फ आकर्षित भएका छन् । वडा नं. ९ को नीगालपानी, झगरे, दुईघरे, हटिया, काफलपानी, छाप, गोलाभञ्ज्याङ लगायतका क्षेत्रहरुको हावापानी र माटो चिया खेतीको लागि योग्य भएकाले सो क्षेत्रका किसानहरुलाई विरुवा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
तस्विरः सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस