धादिङ १६ आषाढ
राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पेश गरेको नागरिकता ऐन संशोधन प्रस्ताव भेदभाव उन्मुलन सम्बन्धी अन्तराष्ट्रिय महासन्धी विरोधी भएको भन्दै जनता समाजवादी पार्टी नेपाल धादिङले मङ्गलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । समानताको नारा दिएर नथाक्नेहरुको झन्डै दुई तिहाइको नजिकको शक्तिशाली सरकार भएको बेला विभेद सहितको नागरिकता विधेयक ल्याएको भन्दै जनता समाजवादी पार्टी धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेका र नेपालमै स्थायी रुपमा बसोवास गरेका विदेशी नागरिकले आफ्नो मुलुकको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाणको आधारमा वैवाहिक अंगिकृत नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने ,नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्ने विदेशी नागरिकलाई अंगिकृत नागरिकता प्रदान गर्ने सम्बन्धमा हाल रहेको लैङ्गिक विभेद अन्त्य गरी पूर्ण समानता कायम गर्नु पर्ने, गोरखा भर्ती मार्फत विदेशी सेनामा कार्यरत नेपालीहरुका सन्तानलाई गैह्र नागरिक बनाई राख्ने प्रावधान खारेज गर्नु पर्ने लगायतका ४ बुदे माग जनता समाजवादी पार्टी नेपाल धादिङले राखेको छ ।
लैङगिक अल्पसंख्यालाई नागरिकको लागि लैङगिक परीक्षण गर्नुपर्ने, विभेदपूर्ण प्रावधान खारेज गर्नु पर्ने, लैंङ्गिक पहिचानलाई मान्यता दिई नागरिकता प्रदान गर्नुपर्ने, सम्पुर्ण नागरिकहरुलाई समान व्यवहार गर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । यदि यस्ता मागहरुको सम्बोधन नभए चरणबद्ध रुपमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रममा उत्रिने जनता समाजवादी पार्टी नेपाल धादिङका अध्यक्ष राम ढकालले बताउनु भयो । कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल धादिङका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस