धादिङ १५ आषाढ
धादिङमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुनेको सङ्ख्या १ सय २० पुगेको छ । सोमबार धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. २ का १ जना पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्बर १३ का १ जना महिलामा कोरोना सङ्क्रमण पुष्टी भएसँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय २० पुगेको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनुभयो । सङ्क्रमितहरुमा ज्वालामूखी गाउँपालिका वडा नम्बर २ का ३२ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्बर १३ की ३० वर्षीय महिला रहेको डा. पौडेलले बताउनु भयो । हालसम्म धादिङकोे १० वटा स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ६१ जना, ज्वालामूखी गाउँपालिकामा २ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा १८ जना, सिद्धलेकमा ३ जना, नेत्रावती डब्जोङमा १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा १, गल्छीमा २ जना, थाँक्रेमा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा ३ जना र आइतबार एकजना महिला सहित कोरोना सङ्क्रमितको संख्या १ सय २० पुगेको छ । सङ्क्रमित मध्ये ६० जना निको भई घर फर्किसकेका छन् ।
यसै बिच नीलकण्ठ नगरपालिकाबाट सोमबार ९ जना कोरोनालाई जितेर घर फर्किएका छन् । कोरोना भाइरस(कोभिड १९) पिसिआर रिपोर्ट पोजेटिभ आई नगरपालिकाले निर्माण गरेको आईसोलेसनमा बसेका ९ जनालाई घर पठाइएको हो । आइतबार २४ र सोमबार ९ जना गरी ३३ जना कोरोना जितेर घर फर्किसकेका छन् । कोरोना भाईरसबाट सङ्क्रमित भएका उनीहरुलाई दुई सातासम्म आइसोलेसनमा राख्दा पनि कुनै लक्षण नदेखिएपछि उनीहरुलाई घर पठाइएको नीलकण्ठ नगरपालिका धादिङले जनाएको छ । जेठ ३१ र ३२ गते आईलेसनमा आएकाहरुलाई घर पठाइएको नीलकण्ठ नगरपालिकाको स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनुभयो । घर फर्किनेमा नीलकण्ठ नगरपालिका वडा नम्बर १,७ र १४ का ५ जना महिला र २८ जना पुरुष रहेका छन् ।
प्रतिक्रिया दिनुहोस