धादिङ १४ आषाढ
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइनहरू महिला मैत्री नभएको भन्दै नारी जागरण केन्द्र धादिङले आइतबार जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाललाई ध्यानाकर्षण पत्र बुझाइएको छ । विभेद रहित तवरमा नागरिक समाजलाई सहभागी गराउनु पर्ने, महिला पुरुषको लागी अलग र छुट्टै शौचालय तथा सुरक्षित कोठा भएको क्यारेन्टाइनको व्यवस्था गरिनु पर्ने, एक घर एक पिसिआर टेष्ट को अभियान चलाउनु पर्ने, प्रदेश स्तरीय प्रयोगशालाको प्रभावकारी व्यवस्था गरिनु पर्ने, अनुगमन प्रतिवेदनको नियमित सार्वजनिकीकरणको व्यवस्था मिलाउनु पर्ने, बनेका क्वारेन्टाइन र आइसोलेशन कक्षहरु मापदण्ड अनुसारको हुनुपर्ने, कोरोना भाइरस सम्बन्धी भएका खर्च र प्रगति बिवरण प्रदेश सरकारको तर्फबाट नियमित सार्वजनिक गर्ने व्यवस्था मिलाउनु पर्ने, समाजका रोगी, गरीब, श्रमिक, महिला, जेष्ठ नागरिक, वर्ग र समुदायको लागि विशेष प्याकेज सहितको कार्यक्रम लागु गर्नुपर्ने लगायतका १३ बुदे माग नारी जागरण केन्द्र धादिङले राखेको छ ।
स्थानीय सरकारको नीति तथा कार्यक्रम अन्तर्गत कोरोना भाईरस(कोभिड १९) का कारण प्रभावित महिलाको लागि छु्ट्टै क्वारेन्टाइनको व्यबस्था गर्नु पर्ने र क्वारेन्टाइनको अनुगमन गर्नुपर्ने माग राख्दै नारी जागरण केन्द्र धादिङ र नारी विकास सहकारी संस्थाको सहकार्यमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपालको संविधान २०७२ अनुसार आर्थिक समृद्धि, विकास र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने साथै स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार लोकतन्त्रका लाभहरुको समानुपातिक, समावेशी, सहभागिमूलक न्यायोचित वितरण गरी कानूनी राज्य र दिगो विकासको अवधारणा अनुरुप स्थानीय श्रोत साधनको समुचित परिचालन मार्फत सहकारिता, सहअस्तित्व, पारस्परिक जवाफदेहिता र समन्वयलाई प्रवद्र्धन गर्दै भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम भएको ध्यानाकर्षण पत्रमा पत्रमा उल्लेख गरिएको छ ।
यसै गरी वैदेशिक रोजगारीको लागी विदेश गएका लाखौं नेपालीहरु स्वदेश फर्कने क्रम जारी रहेकाले अन्य व्यक्तिलाई सङ्क्रमण हुन नदिन र स्वास्थ्य सुरक्षाको गर्नुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन र कोरोना रोकथाम गर्न आगामी बजेटले विषेश प्राथमिकता दिनुपर्ने नेपालको संबिधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तथा प्रदेश तहको योजना प्रकृयाका सन्र्दभमा एकरुपता कायम गर्नुपर्ने ध्यानाकर्षण पत्रमा भनिएको छ । यसै गरी नारी जागरण केन्द्र धादिङ र नारी विकास सहकारी संस्थाले आइतबार नै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई समेत ज्ञापन पत्र बुझाइएको छन् । कार्यक्रममा नारी जागरण केन्द्र धादिङकी कार्यकारी निर्देशक भगवती उप्रेती र नारी विकास सहकारी संस्थाका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस