धादिङ १३ आषाढ
देशका ७७ वटै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । शनिबार रसुवाको नौकुण्ड गाउँपालिकाका ९ जना सङ्क्रमित भएसँगै नेपालका सबै जिल्लामा कोरोना सङ्क्रमण फैलिएको हो । करिब १८ दिन पहिला कुवेतबाट आएका ८ महिला र भारतबाट आएका १ पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्व स्याङबो घलेले जानकारी दिनुभयो । उनीहरुलाई गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको थियो । करिब १४ दिन पहिला नै पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइए पनि ढिलो गरी परीक्षण रिपोर्ट आएको अध्यक्ष घलेले बताउनु भयो । क्वारेन्टाइनमा रहेका ९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएपछि सँगै रहेका अन्य व्यक्तिहरुमा पनि सङ्क्रमणको सङ्का गरिएको छ । सङ्क्रमण पुष्टी भएका ९ जनालाई नै जिवजिवे ग्रामीण अस्पतालको आइसोलेसनमा लागने तयारी भएको समेत घलेले बताउनु भयो । यस्तै सङ्क्रमितको सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, प्रहरी, स्थानीय जनप्रतिनिधि र क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षणको तयारी भएको पनि अध्यक्ष घलेको भनाइ छ । पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सख्ंया १२ हजार ३ सय ९ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस