धादिङ ११ आषाढ
नीलकण्ठ माध्यमिक विद्यालयले प्रबिधिमैत्री शिक्षणका लागि विद्यालयमा अध्यापनरत सबै तहका शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । कोरोना भाइरस(कोभिड १९) का कारण विद्यालयको पठनपाठन अबरुद्ध भएकाले अनलाइन कक्षा सञ्चालन गर्नका लागि थप सहज होस् भनेर ल्यापटप वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सिलवालले बताउनुभयो । विद्यालयले भौतिक दूरी कायम गर्दै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्नुको साथै अनलाइन कक्षा समेत सञ्चालन गरिसकेको छ । ६० प्रतिशत शिक्षकको लगानी र ४० प्रतिशत विद्यालयले व्यहोर्ने गरी ल्यापटप खरिद गरेर वितरण गरिएको प्रधानाध्यापक सिलवालले बताउनु भयो । ल्यापटप वितरणसँगै कम्प्युटरसम्बन्धी ज्ञान नभएका शिक्षकहरुलाई कम्प्युटर तालिम समेत सञ्चालन गरिने भएको छ । ल्यापटप वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता र वडा अध्यक्ष होम प्रसाद रिजाल तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बस्यालको विशेष आतिथ्यता रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न ल्यापटप वितरण कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।
तस्बिर : सामाजिक सञ्जाल
प्रतिक्रिया दिनुहोस