धादिङ ०९ आषाढ
काङ्ग्रेस नेता भिम प्रसाद ढुङ्गाना नेतृत्वको नीलकण्ठ नगरपालिकाले राजनैतिक र बहुमतको आडमा एकलौटी गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नीलकण्ठ नगर सङ्गठन कमिटी धादिङले मङ्गलबार नगर प्रमुख ढुङ्गानालाई ज्ञापन पत्र बुझाएको छ । बहूमतको आडमा नगर प्रमुखले नेकपाबाट विजयी भएका उपप्रमुख र वडा अध्यक्षहरुको असहमतिका बाबजुद पनि काङ्ग्रेसले जितेका वडामा मात्र ठुलो सङ्ख्यामा बजेट विनियोजन गर्ने, नगरपालिकाको हरेक विकासका आयोजनाहरु सार्वजनिक बोलपत्रमार्फत नगरी आफ्ना कार्यकर्ता र नजिकका ठेकेदारहरुलाई आन्तरिक सहमतिमा जिम्मा लगाउने, वडा अध्यक्षको अधिकार समेत कटौति हुनेगरी नगर शिक्षा ऐन पास गरी नगरप्रमुखले हस्तक्षप गरेको, कोरोना कोषको सम्पूर्ण हिसाब सार्वजनिक गर्नुपर्ने, स्थानीय सरकार सञ्चालन ऐन विपरित एकलौटी बजेट विनियोजन गरेको जस्ता गम्भीर विषयहरु तत्काल सच्याउनु पर्ने माग राख्दै नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीले ज्ञापन पत्र बुझाएको हो ।
१५ वटा बुँदा समावेश गरिएको ज्ञापन पत्रमा १ घर १ कोरोना पिसिआर परीक्षण गर्नुपर्ने, हरेक वडामा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, १ वडा १ कालोपत्रे अभियान सञ्चालन गर्नुपर्ने जस्ता मागहरु रहेका छन् । नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीका अध्यक्ष दिपक विश्वकर्माद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै ढुङ्गानाले सुझावका रुपमा आएका मागहरुलाई स्वागत गर्दै नीति तथा कार्यक्रममा समेट्ने कोशिष गर्ने बताएका थिए । ढुङ्गानाले हरेक विकास निर्माणका कार्यमा नगर कार्यपालिकाको निर्णय गराएर मात्र कार्यान्वयन गर्ने गरिएको बताउदै नगर प्रमुखले कुनै पनि भ्रष्टाचार गरेको प्रमाण सहित आए तुरुन्तै राजिनामा दिन तयार रहेको बताएका थिए । ज्ञापन पत्र बुझाएपछि भएको कोणसभामा बोल्दै नेकपा नीलकण्ठ नगर सङ्गठन कमिटीका अध्यक्ष दिपक विश्वकर्माले नगर प्रमुख ढुङ्गानाले बहुमत र राजनैतिक दम्भका आडमा नगरपालिकाका विकासका योजनाहरु सञ्चालन गर्ने कार्य तत्काल नरोके भोलिबाट नै चरणबद्ध रुपमा कडा भन्दा कडा आन्दोलनका कार्यक्रममा उत्रिने चेतावनी समेत दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेकपा धादिङका उल्लेख्य सङ्ख्यामा नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र
प्रतिक्रिया दिनुहोस