धादिङ ०८ आषाढ
जन्मदै दिसाघर नभएका ज्वालामूखी गाउँपालिका वडा नं. ७ माथिल्लो रामपुरका ३ वर्षीय एन्जल तामाङको उपचारार्थ सहयोग रकम जुट्ने क्रम जारी रहेको छ । पोखरा स्थायी घर भएर हाल बेलायत बस्दै आउनुभएका माया गुरुङ र पार्वती गुरुङको समन्वयमा माइला कान्छा लकडाउन अभियान नामक ग्रुपमार्फत बेलायतमा बस्ने नेपाली नागरिकहरुद्धारा सङ्कलन गरिएको १ लाख २ हजार ६५ रुपैया रकम दुई चरणमा गरेर हस्तान्तरण गरिएको हो । लकडाउनका कारण समस्यामा परेका परिवार तथा शारीरिक अशक्त व्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएका उहाँहरुले छुट्टीमा नेपाल आएको अवसर पारी दोस्रो चरणको सहयोग रकम रु. ६२ हजार ५५ हस्तान्तरण गर्नुभएको हो । आइतबार बेनिघाट रोराङ गाउँपालिकास्थित मलेखु बजारमा समाजसेवी दिनेश कुमार तामाङको सहजीकरणमा उक्त रकम बिरामी एन्जल तामाङकी आमा मनिशा तामाङलाई हस्तान्तरण गरिएको हो । ज्वालामूखी गाउँपालिका वडा नं. ७ माथ्लो रामपुर बडहरेका ३ वर्षीय एन्जल तामाङको जन्मजात नै दिसाघर नभएपछि हाल पेट चिरेर आन्द्रा बाहिर निकालेर दिसा गराउने गरिएको छ । निम्न परिवारका तामाङको उपचारमा हालसम्म करिब ५ लाख पैसा खर्च गरिसकेता पनि पूर्ण रुपमा निको हुनका लागि अझै ३ लाख जस्तो लाग्ने बाबु मिलन तामाङले बताउनु भयो । एन्जल तामाङको उपचारका लागि कान्ति बाल अस्पताल र पाटन अस्पतालमा कुरा भैरहेको समाजसेवी दिनेश तामाङले बताउनु भयो । सहयोगी मनहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बिरामी एन्जलको सम्पूर्ण उपचारको लागि व्यवस्थापन भइरहेको सहयोगी मनहरुबाट थप सहयोगको अपेक्षा समेत गरिएको तामाङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस