धादिङ ०७ आषाढ
जनयुद्धका महान् शहिद डम्बर बहादुर श्रेष्ठ(ज्वाला), रवि बोगटी(अनन्त) र विमल घले(प्रज्ञा)को १८ औँ स्मृति दिवस धादिङबेसीमा सम्पन्न भएको छ । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष एवं नेकपा नेता राम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको स्मृति दिवस कार्यक्रममा प्रदेश सभा सदस्य एवं नेकपा नेता डा. राम कुमार अधिकारीको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिका धादिङका उप मेयर एवं नेकपा नेता मनराज भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा नीलकण्ठ नगरकमिटि अध्यक्ष दिपक वि.क. लगायत नेकपा धादिङका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभा सदस्य एवं नेकपा नेता डा. रामकुमार अधिकारीले तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्ध नगरेको भए गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी जस्ता महत्वपूर्ण उपलब्धीहरु असम्भव रहेको बताउनु भएको थियो । यस्तै डा. अधिकारीले विभिन्न युद्ध आन्दोलनमा ज्यान गुमाएका शहिदहरुको सम्झनालाई जीवित राख्नको लागि आफ्नो पहलमा प्रदेशबाट ४ करोड बजेट विनियोजन गरी शहिद पार्क निर्माण सुरु गरेको बताउनु भयो ।
यसैगरी नेकपा नेता एवं नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले शहिद ज्वाला, अनन्त र प्रज्ञासँग आफूले सहकार्य गरेका दिनहरु सम्झदै जनयुद्धको रफ्तार र उपलब्धीलाई आत्मसात गर्न नसकी तत्कालीन शाही सेनाले बर्बरतापूर्ण हत्या गरेको बताउनु भयो । साथै शहिदहरुले देखाएको बाटोमा अविचलित भइ निरन्तर लाग्नुपर्ने समेत बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष एवं नेकपा नेता जनयुद्धका जिउदा शहिद राम बहादुर भण्डारीले १० वर्षे जनयुद्धले स्थापना गरेका महत्वपूर्ण उपलब्धीहरुलाई संस्थागत गर्दै आम शहिदहरुका सपना पुरा गर्न आम कम्युनिष्ट नेतृत्व र कार्यकर्ता एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयो । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको १० वर्षे जनयुद्धका क्रममा २०५९ साल आषाढ ७ गते धादिङको सत्यदेवी गाविसको बच्छला स्कुलमा लगेर तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।
जनयुद्धका उपलब्धीहरुलाई लिपिवद्ध गर्ने गरी तात्कालीन नेकपा माओवादीले धादिङको प्रकाशन आँखु सन्देशको प्रकाशनको तयारीका क्रममा नीलकण्ठ ५ खाल्टेका डम्बर श्रेष्ठ(ज्वाला), नुवाकोटका रवि बोगटी(अनन्त) र विमल घले(प्रज्ञा)लाई हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस