धादिङ ०६ आषाढ
धादिङको नीलकण्ठ नगरपालिकामा शनिबार ६ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । यो सँगै धादिङमा सङ्क्रमितको सङ्ख्या १ सय जना पुगेको छ । सङ्क्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना पुरुष र १ जना महिला रहेका छन् । शनिबार कोरोना पुष्टी भएकाहरु रोजगारीको सिलसिलामा भारत र कुवेतबाट नेपाल फर्किएर नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेकाहरु रहेको नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । सङ्क्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटका २०, २०, ३८, २६, र २७ वर्षीय पुरुष र नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की ३७ वर्षीय महिला रहेका छन् । धादिङको १३ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ५९ जना, ज्वालामुखी गाउापालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेक गाउँपालिकामा २ जना, नेत्रावती डबजोङ गाउँपालिकामा १ जना, गल्छी गाउँपालिकामा १ जना, थाँक्रे गाउँपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा १ जना गरी कुल १ सय जना पुगेका छन् । सङ्क्रमित मध्ये नेत्रावती डबजोङ गाउँपालिकाका एक पुरुष, गल्छी गाउँपालिकाकी एक महिला र थाँक्रेका एक पुरुष, सिद्धलेककी एक महिला र धुनिबेशीकी एक महिला गरी ५ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस