धादिङ ०५ आषाढ
धादिङको नीलकण्ठ नगरपालिकामा शुक्रबार २ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । यो सँगै धादिङमा सङ्क्रमितको संख्या ९४ जना पुगेको हो । रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा काम गरी नेपाल फर्किएर क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिनुभयो । संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुँवाकोटका २९ वर्षीय पुरुष र वडा नम्बर १० ज्यामरुङका ३२ वर्षीय पुरुष रहेका छन् । हालसम्म धादिङको १३ वटा स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ५३ जना, ज्वालामुखी गाउापालिकामा २७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जना, सिद्धलेकमा २ जना, नेत्रावती डब्जोङमा १ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै गल्छी गाउँपालिकामा १ जना, थाँक्रे गाउँपालिकामा १ जना, धुनीबेसी नगरपालिकामा १ जना र गजुरी गाउँपालिकामा १ जना गरी कुल ९४ जना पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस