धादिङ ०२ आषाढ
कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको भन्दै नेपाली काङग्रेस जिल्ला कार्य समिति धादिङले मङ्गलबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कोरोना नियन्त्रणमा सरकारले गरेका हरेक क्रियाकलापहरु चित्त बुझ्दो नभएको र जनताहरुलाई झुक्याउने काम गरेको भन्दै नेपाली काङ्ग्रेस धादिङले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । आरडिटी परीक्षण बन्द गरी आवश्यक स्वास्थ्य सामाग्री र दक्ष जनशक्तिको उचित व्यवस्थापन गर्दै पिसिआर परीक्षणलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने, पिसिआर परीक्षण गरेपछि मात्र क्वारेन्टाइनबाट घर पठाउनु पर्ने, सामाजिक दूरी कायम गर्ने व्यवस्था सहित स्थानीय तहहरू मार्फत न्यूनतम आवश्यकता र ’खाद्यान्नका लागि काम’ को व्यवस्था गर्नुपर्ने, विदेशबाट फर्कन चाहने नेपालीहरूलाई विना भेदभाव न्यूनतम भाडा दरमा फर्कने व्यवस्था गर्नुपर्ने लगायतका १६ बुँदे माग काङग्रेस धादिङले राखेको छ ।
यसै गरी कोरोना भाइरसका कारण आम नागरिकमा सन्त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अप¥याप्तता देखाएर पिसिआर परीक्षण सुस्त गतिमा गरिनु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरितका क्वारेन्टाइनहरू निर्माण गरिनु, क्वारेन्टाइन नै सङ्क्रमण बढाउने केन्द्र बन्दै जानु, विपन्न नागरिक र श्रमिकहरूको जीविका अत्यन्त कष्टकर बन्दै गएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । चीनको वुहान हुँदै विश्वभर कोरोना भाइरसको सङ्क्रमणले भयावह रुप लिँदै गर्दा सम्भावित सङ्क्रमणबाट मुलुकलाई जोगाउन नेपाली काङ्ग्रेसले सुरुवाति चरणदेखि नै नेपाल सरकारलाई सचेत गराउँदै आएको विज्ञप्तीमा भनिएको छ । राष्ट्रिय विपत्तिमा सरकारलाई सदैव साथ दिदै आएता पनि सरकारको गैह्रजिम्मेवारपन, र संवेदनहीनताले हरेक क्षेत्रमा सङ्कट गहिरिँदै गएको विज्ञप्तिमा भनिएको छ । कार्यक्रममा नेपाली काङग्रेस धादिङका सभापति रमेश धमला, पुर्व सभापति रामनाथ अधिकारी लगायत नेपाली काङ्ग्रेस धादिङका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस