धादिङ ३१ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा. सागरराज भण्डारीका अनुसार संक्रमित मध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।
संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं १ का २४, २६, ३५ वर्षीय महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नं ४ का २३ वर्षीय पुरुष, वडा नं ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नं १४ का ३२, ३५ वर्षीय महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।
क्वारेन्टिनमा रहेकाहरुको आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्बाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँमा गरिएको परिक्षणमा रिपोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै धादिङमा संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमित देखिएका मध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् ।
यसअघि प्रकाशन गरिएको समाचारमा तथ्याङ्क तलमाथि भएकाले सच्याइएको छ ।
प्रतिक्रिया दिनुहोस