धादिङ ३० जेष्ठ
धादिङमा शुक्रबार एकै दिन २७ जनामा कोरोना भाइरस( कोभिड १९ ) पुष्टी भएको छ । धादिङको ज्वालामुखी गाउँपालिकामा २७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ज्वालामुखी गाउँपालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टाइनमा बसेका ६८ जनाको स्वाब सङकलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएको थियो । रोजगारीको सिलसिलामा भारतका बिभिन्न स्थानहरुमा काम गरी नेपाल आइ गाउँपालिकाको क्यारेन्टाइनमा बसेकाहरु मध्ये शुक्रबार २५ जना पुरुष र २ जना महिला गरी २७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी गराउनु भएको हो । ज्वालामुखी गाउँपालिकाको वडा नम्बर ६ स्थित सुनखानी माध्इमिक विद्यालयको क्वारेन्टाइनमा रहेका १२ जना र मैदीमा रहेको क्वारेन्टाइनमा रहेकाहरु मध्ये १५ जनामा कोरोना पुष्टी भएको हो । संक्रमितहरु मध्ये ज्वालामुखी गाउँपालिका वडा नं १ का ३५ वर्षीय महिला, ४३, ४४, ३६ र ५६ वर्षका पुरुष, वडा नं २ का ३७ वर्षीय महिला, ३३, ३२, २९, ४३, ५६, २७, ३७, २४ र ४८ वर्षीय पुरुष छन् । त्यस्तै वडा नं ५ का २६, ४२ र १६ वर्षीय पुरुष, वडा नं ६ का २६, २० र २९ वर्षीय पुरुष र वडा नं ७ का २२, २२, ४०, ५०, २१ र २२ वर्षीय पुरुष रहेका छन् । योसँगै धादिङमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५९ पुगेको छ । संक्रमित हुनेमा नेत्रावती डब्जोङ गाउँपालिकामा १, गल्छी गाउँपालिकामा १, थाँक्रे गाउँपालिकामा १, धुनीबेसी नगरपालिकामा १, सिद्धलेक गाउँपालिकामा १, नीलकण्ठ नगरपालिकामा १७, गजुरी गाउँपालिकामा १, त्रिपुरासुन्दरी गाउँपालिकामा ७, ज्वालामुखी गाउँपालिकाका २७ र धादिङकै अर्का २ जना गरी हाल सम्म ५९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस