धादिङ २९ जेष्ठ
धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना भाइरस पुष्टी भएको छ । गाउँपालिकाले निर्माण गरेको विभिन्न क्वारेन्टाइनमा बस्दै आएका उनीहरुको गत जेष्ठ २५ गते स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । भारत लगायत अन्य स्थानबाट गाउँपालिका आएर क्वारेन्टाइनमा बसेकाहरुमध्ये रानीपौवा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका १ जना र त्रिपुरा सुन्दरी माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकाहरुमध्ये ६ जनामा सङ्क्रमण पुष्टी भएको त्रिपुरा सुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठले जानकारी दिनुभयो । सङ्क्रमित भएकाहरुको थप उपचार र आइसोलेशनको व्यवस्था तथा कन्ट्र्याक्ट ट्रेसिङ लगायत थप निर्णयका लागि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलसहितको टोली सल्यानटार पुगिसकेको समेत श्रेष्ठले बताउनु भयो । सङ्क्रमित भएकाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । योसँगै धादिङ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस