सुमन अधिकारी
धादिङ २७ जेष्ठ
नीलकण्ठ नगरपालिकाको राजनैतिक पुर्वाग्रहका कारण नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटका नागरिकहरु कोरोना भाइरस महांमारीबाट चपेटामा परेको वडा अध्यक्ष फन्द्रा तामाङले बताएका छन् । मङ्गलबार एक प्रेस विज्ञप्ती जारी गर्दै तामाङले सो कुरा बताएका हुन् । कोरोना भाइरसका कारण नेपाल भारत सीमानामा अलपत्र परेका नीलकण्ठ १४ धुवाकोटका नागरिकहरुलाई उद्दार गर्नेदेखि क्वारेन्टाइनमा रहेका नागरिकहरुलाई खाद्यान्न, स्वास्थ्य सुरक्षाका सामग्री र परीक्षणमा समेत विभेद गरेको वडा अध्यक्ष तामाङले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तामाङले जारी गरेको विज्ञप्तीमा रोजगारीको सिलसिलामा नेपाल भारत सीमामा अलपत्र परेका धुवाकोटका नागरिकहरुको नगरपालिकाले उद्धार नगरिनु, क्वारेन्टाइनमा बसेकाहरुलाइ सङ्क्रमणको जोखिम रहदा रहदै १÷२ दिनमात्र राखेर बिना परीक्षण घर पठाइनु, सँगै क्वारेन्टाइनमा बसेको व्यक्तिलाई कोरोना पोजेटिभ देखिदा समेत अर्को व्यक्तिलाई चेक जाँच नगरी घर पठाइनु, वडा नं. १४ ले व्यवस्थापन गरेको क्वारेन्टाइनमा रहेका नागरिकहरुको पिसिआर परीक्षणमा कुनै पहल नगर्नु, धुवाकोटको क्वारेन्टाइनमा बसेका १०८ जनालाई खाद्यान्न लगायत कुनै सहयोग नगर्नुले सोझै राजनैतिक पूर्वाग्रह झल्किएको वडा अध्यक्ष तामाङले बताउनु भयो । नीलकण्ठ नगरपालिकाका मेयरको राजनैतिक पूर्वाग्रहका कारण कोरोना सङ्क्रमणमा भएको अव्यवस्थापन र सङ्क्रमण नियन्त्रणका लागि नदेखाएको तदारुकताले गर्दा सम्पूर्ण धुवाकोटबासी नै कोरोनाको त्रासमा बाच्नु परेको एक स्थानीयले बताएका छन् । सोमबार मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका धुवाकोटका ९ जनामा कोरोना पोजेटिभ देखिएपछि सिङ्गो धुवाकोट नै कोरोनाका त्रासमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस