धादिङ २७ जेष्ठ
गजुरी गाउँपालिका वडा नं. ५ घाटबेसीमा अलपत्र परेकी एक महिलामा कोरोना पुष्टी भएसँगै गजुरी गाउँपालिकाको घाटबेसी सिल गरिएको छ । सोमबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटबेसीकी ३२ वर्षीय एक महिलामा कोरोना भाइरस पोजेटिभ देखिएसँगै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त क्षेत्रमा सिल गरिएको हो । चिततवनको भरतपुर अस्पतालको क्वारेन्टाईनमा रहनुभएकी ती महिलामा कोरोना पोजेटिभ देखिएपछि गजुरी गाउँपालिका ५ घाटबेसीको पुर्वमा राधाकृष्ण मन्दिर, पश्चिममा धारापानी जाने बाटो, उत्तरमा त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको १०० मिटर भित्रको चार किल्ला क्षेत्रमा सङ्क्रमित व्यक्ति सँग सम्पर्कमा रहेकाहरुको पिसिआर रिर्पोट नआउन्जेल सिल गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले जानकारी दिनु भयो । उल्लेखित चार किल्ला क्षेत्रभित्र पूर्ण शिलबन्दी गरेर आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ । मानसिक सन्तुलन गुमाएकी महिला डेढ वर्ष अघिदेखि घाटबेसी आसपास क्षेत्रमा बस्दै आइरहेकी थिइन् । ती महिलामा एक्कासी स्वास्थ्यमा समस्या, ज्वरो आउन थालेपछि स्वाव सङ्कलन गरी जेठ २१ गते चितवनको भरतपुर कोरोना अस्पतालमा पठाइएकोमा सोमबार मात्र कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो सँगै धादिङमा कोरोना संक्रमितहरुको संख्या २३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस