धादिङ २६ जेष्ठ
धादिङका एकैदिन सोमबार १६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । नीलकण्ठ नगरपालिकाले नगरपालिकाभित्रका क्वारेटाइनमा बसेका व्यक्तिहरुको आरडिटि परीक्षण गर्दा पोजेटिभ देखिएका ३९ जनाको पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएकोमा शनिबार १ जनाको र सोमबार १६ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । कोरोना पोजेटिभ देखिएका १६ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिनुभयो । यससँगै धादिङमा २२ जना कोरोना सङ्त्रमित पुष्टी भएको छ । धादिङमा कोरोना सङ्क्रमितको दर एक्कासी बढेसँगै थप निर्णयका लागि जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ ।कोरोना पुष्टि भएकाहरुमा नीलकण्ठ १ का १७ वर्षका पुरुष, नीलकण्ठ २ का २२ वर्षका पुरुष, नीलकण्ठ ३ का ४० वर्षका पुरुष, नीलकण्ठ–५ का ३० र ३५ वर्षका पुरुष, नीलकण्ठ–११ का ४२ र ५५ वर्षका पुरुष र नीलकण्ठ–१४ का १४,२३,३५,४५ र ५० वर्षका पुरुषहरु तथा २१, २७ र ३६ वर्षका महिला र २० महिनाको बालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस