धादिङ २५ जेष्ठ
धादिङमा थप १ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । हालसालै भारतबाट फर्किएर नीलकण्ठ नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका नीलकण्ठ नगरपालिका ७ स्थायी घर भएका ३३ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बस्दै गर्दा कोरोना भाइरसको सङ्कास्पद लक्षण देखिएपछि उनलाई जेष्ठ २१ गते कोरोना उपचारको अस्थायी एकीकृत आइसोलेशन कक्षामा राखिएको थियो । आइसोलेशनमा रहेको उनको जेष्ठ २३ गते स्वाव सङ्कलन गरी परीक्षणको लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा पठाइएको थियो । सूचना अधिकारी वि.क.ले उनको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको पनि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम सुरु गरिने पनि वि.कले बताउनु भयो । यो सँगै धादिङमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ । यस अघि धुनिवेशी नगरपालिका वडा नं. ३ की २३ वर्षीय महिलामा सङ्क्रमण पुष्टी भएको थियो । उनको शसस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सिद्धलेककी एक गर्भवती महिलाको पनि हाल उपचार भइरहेको छ । नेत्रावती डबजोङ गाउँपालिकाको एक जना पुरुष, गल्छी गाउँपालिकाकी एक जना महिला र थाँक्रेका कोरोना संक्रमित एक जना पुरुष निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस