धादिङ २३ जेष्ठ
विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै धादिङ बोर्डिङ स्कुल, न्यु धादिङ बोर्डिङ स्कुल र गणेश हिमाल क्याम्पसले शिक्षक तथा कर्मचारीहरुको कोरोना स्वास्थ्य बिमा गराएका छन् । ३ वटै शैक्षिक संस्थाका १ सय १ जना शिक्षक कर्मचारीको कोरोना बिमा गरिएको धादिङ बोर्डिङका प्रधानाध्यापक हरि लम्सालले बताउनु भयो । प्रतिव्यक्ति रु १ लाखका दरले शिखर इन्स्योरेन्स कम्पनी मार्फत कोरोना स्वास्थ्य बिमा गरिएको हो । महांमारीको बेला शिक्षक तथा कर्मचारीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर विद्यालयको तर्फबाट शिक्षक कर्मचारीको स्वास्थ्य बिमा गर्नु पहिलो जिम्मेवारी भएको लम्सालले बताउनु भयो ।
लकडाउनका कारण देशभरका सम्पूर्ण शैक्षिक संघ/संस्थाहरू बन्द हुँदा शिक्षक तथा कर्मचारीहरू काम बिहिन भएको तथा हजारौँ विद्यार्थीहरुको पठनपाठनमा समस्या उत्पन्न भएको छ । लकडाउनकै बिचमा पनि सामाजिक दुरीलाई कायम गर्दै धादिङ बोर्डिङ, न्यु धादिङ बोर्डिङ र गणेश हिमाल क्याम्पसले विद्यार्थीहरुको शैक्षिक अवस्थालाई ध्यान दिँदै बैशाखको अन्तिम सातादेखि नै निःशुल्क अनलाइन कक्षा सञ्चालन गरी विद्यार्थीहरुलाई शिक्षा प्रदान गरिरहेको छ भने शिक्षक तथा कर्मचारीहरुलाई कोरोना स्वास्थ्य बिमा मार्फत हौसला प्रदान गरेको प्रधानाध्यापक लम्सालले बताउनु भयो ।
शैक्षिक संस्थाहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको हितको लागि विद्यालयको तर्फबाट यति ठुलो संख्यामा स्वास्थ्य बिमा गराउने धादिङ बोर्डिङ, न्यु धादिङ बोर्डिङ र गणेश हिमाल क्याम्पस पहिलो भएको पनि प्रधानाध्यापक लम्सालको भनाइ छ । कोरोनाको महांमारी चलिरहेको बेला आफ्नो संस्थामा कार्यरत शिक्षक कर्मचारीहरुको आपतकालीन स्वास्थ्य बिमा अन्य विद्यालयहरुका लागि पनि अनुकरणीय हुन सक्छ ।
प्रतिक्रिया दिनुहोस