धादिङ जेष्ठ २२
बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ धादिङले राहत वितरणमा नयाँ शैली अपनाएको हो । कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउन लम्बिदै जादा विपन्न तथा मजदुरहरुलाई राहत वितरणका लागि नयाँ शैली बनाएको हो । नयाँ मापदण्ड अनुसार २ दिन काम गरेपछि १ बोरा चामल दिइने वडा सचिव केशर भुजेलले बताउनु भयो । खाद्यान्न अभाव भएको परिवारका एक सदस्यलाई २ दिन वडाले सञ्चालन गरेका विकास निर्माणका योजनाको काममा लगाएर ३० केजिको १ बोरा चामल वितरण सुरु गरेको हो । यस अभियान अन्तरगत सय जना भन्दा बढीलाई रोजगार प्रदान गरी खाद्यान्न दिइएको वडा सचिव भुजेलले जानकारी दिनुभयो । यस अभियानमा रिचोकटार कुलो सरसफाई, आँपखर्क बागेश्वरी सडक नाली निर्माण, माथिल्लो वर्बाङदेखि गोमती पुलसम्म गोरेटो बाटो सरसफाई, सुन्धनी गुफा जाने सिढी निर्माण लगाएतका योजनाहरुमा सहभागी गराइएको छ । उक्त कार्यक्रमको संघीय सांसद भूमी त्रिपाठी, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्त बहादुर डल्लाकोटी लगायतले अनुगमन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस