धादिङ १८ जेष्ठ
रुकुम हत्याकाण्डका बिरुद्धमा संयुक्त दलित संघर्ष समिति धादिङको समन्वयमा आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अन्तरजातीय बिबाहको विषयमा लिएर भएको जाजरकोटका नवराज विक सहित ५ जना युवाहरुको हत्या भएको विषयलाई लिएर उक्त हत्याकाण्डको उचित छानबिन गरी हत्यारालाई कडा भन्दा कडा कारबाहीको माग गर्दै संयुक्त दलित संघर्ष समिति सहित १५ वटा दलित संघ सङ्गठनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । ८ वटा माग राख्दै विज्ञप्तीमा अधिकार सम्पन्न सर्वदलीय छानबिन समिति गठन गर्नुपर्ने, दोषीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने, घटनाका मृतकलाई सांस्कृतिक सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, घटनाबाट ज्यान जोगाएकाहरुलाई सुरक्षाको व्यवस्था गर्नुपर्ने, जातीय विभिेदका आधारमा हुने यस्ता खाले घटनाहरुलाई दोहोरिन नदिन सरकारद्धारा विशेष कार्ययोजना बनाउनु पर्ने लगायतका रहेका छन् । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ राना गाउँ निवासी २१ बर्षिय नवराज विश्वकर्मा आफ्नी प्रेमिका सुस्मा मल्लसँगको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा जाने क्रममा नवराज बिश्वकर्मा कथित सानो जात भएकै कारण उनी सहित ४ जना साथीहरुको हत्या गरी भेरी नदीमा फालिएका ५ जनाको शब भेटिइसकेको छ भने १ जना अझैँ बेपत्ता रहेको भन्दै दोषी उपर हदैसम्मको कानुनी कारबाहिको माग गरिएको छ । संयुक्त दलित संघर्ष समितिको अगुवाइमा भएको बिरोध ¥याली पुछारबजारबाट सुरु भई बिचबजार हुदै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाइएको थियो । बिरोध ¥यालीमा ३ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस