धादिङ १४ जेष्ठ
खेतिपातीको मूख्य सिजनमा यो वर्ष पनि धादिङका किसानहरुलाई रासायनिक मलको चरम अभाव भएको छ । सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ मार्फत कृषि सहकारीहरुलाई मात्र रासायनिक मलको विक्री वितरणको अनुमति दिएता पनि आवश्यक मात्रमा सहकारीहरुलाई मल आपूर्ति गर्न नसक्दा किसानहरुलाई समस्या भएको हो । धादिङ जिल्लका ५९ वटा सहकारीहरुलाई युरिया, डिएपि र पोटास गरी करिब २७ सय मेट्रिक टन रासायिनक मल वितरण गरिएको कृषि सामग्री कम्पनी शाखा कार्यालय गजुरीकी प्रमुख शर्मिला घिमिरेले बताउनु भयो । धादिङबेसीमा रहेको नीलकण्ठ सहकारीमार्फत धादिङको मध्य क्षेत्रमा मल वितरण हुदै आएता पनि किसानहरुले सहजै मल पाउन सकेका छैनन् । करिब २५ सय बोरा मल आवश्यक परेकोमा कृषि सामग्री कम्पनीले अत्यन्तै न्यून मात्रामा मल पठाएकाले वितरणमा समस्या आएको सहकारीका अध्यक्ष बलराम श्रेष्ठले बताउनुभयो । यता कृषि सहकारीमार्फत मात्र वितरण गर्ने सरकारको निर्णय भएता पनि व्यवसायीहरुले खुलेआम चर्को मूल्यमा रासायनिक मल विक्रि वितरण गरेको किसानहरुको गुनासो छ । कम्पनीले सहकारीलाई युरिया मल प्रति बोरा ८ सय १७, डिएपि मल प्रति बोरा २२ सय ६७ र पोटास प्रति बोरा १६ सय ६६ मा विक्री गरेता पनि नीलकण्ठ सहकारीले युरिया मल प्रतिबोरा १ हजारमा बेचेको पाइएको छ । रासायनिक मलको अभावसँगै मल लिनका लागि सहकारीमा कृषकहरुको भिड अत्यन्तै बढेसँगै कोरोनाको जोखिम समेत बढेको छ ।
प्रतिक्रिया दिनुहोस