धादिङ १० जेष्ठ
रोजगारीको शिलशिलामा भारतका विभिन्न ठाउँहरुमा अलपत्र परेका २ सय १६ जना धादिङका नागरिक शनिबार धादिङबेसी आइपुगेका छन् । सुनौली नाकाहुदै १ सय ३३ जना र रुपन्देही जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका ८४ जना नागरिकहरु शनिबार बिहान धादिङ आइपुगेका हुन् । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाईरस(कोभिड (१९) का कारण लामो समयसम्म लकडाउन लम्बिएपछि भारतका विभिन्न ठाउँबाट सुनौली नाकामा आएर अलपत्र परेका १ सय ३३ जना नागरिकहरु आफ्नै खर्चले २ वटा बस रिर्जभ गरी धादिङ आएका हुन् भने रुपन्देहीको विभिन्न क्वारेन्टाइनमा रहेका ८४ जना नागरिकहरुलाई लिन नीलकण्ठ नगरपालिकाले ४ वटा बस पठाएको थियो । आफ्नै खर्च तिरेर आउनेहरुमा नीलकण्ठ नगरपालिकाका २ बच्चा सहित ६९ जना, सिद्धलेक गाउँपालिकाका २३ जना, नेत्रावती डबजोङ गाउँपालिकाका ११ जना, ज्वालामुखी गाउँपालिकाका २ जना र नुवाकोट जिल्लाका १६ जना रहेका छन् । कोरोना ग्रस्त देश भारतबाट आएका यी १ सय ३३ जना क्वारेनटाईनमा नबसी आएको र आरडिटी समेत परीक्षण नगरेको पाईएकाले सबैलाई आ–आफ्नो पालिकाको क्वारेन्टाईनमा राखिने नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । यसअघि भैरहवाबाटै नीलकण्ठ नगरपालिकाले बस पठाई जेष्ठ ६ गते २६ जनालाई घर ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस