धादिङ ०९ जेष्ठ
नीलकण्ठ नगरपालिका धादिङले भारतबाट फर्केर रुपन्देहीका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका ८८ जना आफ्ना नागरिकहरुलाई लिन बस पठाएको छ । कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण भारतीय सीमानाकामा फसेका आफ्ना नागरिकहरुलाई लिन ३ वटा बस भैरहवा पठाएको हो । नीलकण्ठ नगरपालिका घर भएका तथा भारतका विभिन्न स्थानमा रोजगारीको शिलशिलामा रहेका धादिङका नागरिकहरु सीमानाका पार गरेर रुपन्देही स्थित विभिन्न क्वारेन्टाइनमा बस्दै आएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङसँग अनुमति लिइ आफ्ना नागरिकहरुलाई लिन शुक्रबार ३ वटा बस भैरहवा पठाइएको हो । रुपन्देहीका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका नीलकण्ठ नगरपालिकाका नागरिकहरुलाई रुपन्देही जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी धादिङ ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय धादिङले अनुमति दिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । उक्त क्षेत्रमा रहेको ८८ जनाकै आरडिटि रिपोर्ट हेरेर मात्र ल्याउन लागिएको संयोजक रिजालले बताउनु भयो । आरडिटि रिपोर्ट नेगेटिभ भएकाहरुलाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमा बस्ने गरी घर पठाइने छ भने आरडिटि रिर्पोट नहुनेहरुका लागि भने नगरपालिकाको क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाएको समेत संयोजक रिजालले जानकारी दिुनभयो । यसअघि प्रदेश सांसद डा. रामकुमार अधिकारी र नीलकण्ठ नगरपालिकाको समन्वयमा धुवाकोटका ३२ जना नागरिकहरुलाई रौतहटबाट धादिङ ल्याइएको थियो ।
तस्विरःनारायण सिलवाल
प्रतिक्रिया दिनुहोस