धादिङ ०८ जेष्ठ
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित त्रिवेणी चोकमा रहेको राम लक्ष्मण इन्टरप्राईजेजले ट्रकमा खाद्यान्न लेखेको बोर्ड टाँसेर इट्टा ल्याएको पाइएको छ । विहिबार बिहान रौतहटबाट ना ६ ख ७०३१ र ना ७ ख २७६० नम्बरका दुई ठुला ट्रकमा इट्टा झारी रहेको अवस्थामा गस्तिमा खटिएका शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको समयमा लक्ष्मणले पटक पटक इट्टाको कारोवार गरिरहेको स्थानीयहरुले गुनासो गरेका थिए । स्थानीयहरुको विरोधपछि शसस्त्र प्रहरीले गस्ती गर्दा बिहिबार रौतहटबाट इट्टा ल्याउने ना ६ ख ७०३१ र ना ७ ख २७६० नम्बरका दुबै ट्रक र ट्रकका चालक र सह–चालकहरु मकवानपुर निवासी कृष्ण कार्की र विवेक विष्ट, रौतहट चन्द्रपुर निवासी निराजन लामिछाने र दिपेश मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त ट्रकमा राम लक्ष्मण इन्टरप्राईजेजले पि के जे इट्टा उद्योग गरुडा रौतहटबाट ल्याएको इट्टा ज्वालामुखी कन्ट्रक्सन हुँदै नीलकण्ठ नगरपालिका १४ को गौरी शंखर आधारभुत विद्यालयमा लैजाने तयारी रहेको शसस्त्र प्रहरी कार्यालय धादिङले जनाएको छ । लकडाउनलाई सफल बनाउन नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङ र टोल सुधार महासमिति धादिङले अत्यावश्यकीय सामाग्री समेत ढुवानी तथा विक्रि गर्न रोक लगायका थिए । धादिङबेसी सदरमुकाममा विगत केही दिनदेखि औषधी पसल बाहेका सबै अत्यावश्यक सेवाभित्र पर्ने पसलहरु बन्द रहेका छन् भने सुरक्षाकर्मी, एम्बुलेन्स, शव बहान सञ्चारकर्मीको सवारी साधन भन्दा अन्यलाई प्रवेश रोक लगाईएको छ । कोरोना ग्रस्त क्षेत्र रौतहटबाट धादिङबेसीसम्म इट्टा आइपुग्नु प्रशासनकै मिलेमतो हुनसक्ने स्थानीयको अनुमान रहको छ ।
प्रतिक्रिया दिनुहोस