धादिङ ०६ जेष्ठ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ को दुईवटा सामुदायिक वन क्षेत्रभित्र भएको खयर फडानीमा सङ्लग्न ६ जनाविरुद्ध डिभिजन वन कार्यालय धादिङले जिल्ला अदालत धादिङमा अभियोग पत्र दायर गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिकाको माता जलेश्वरी सामुदायिक वन र रातमाटा खोपाको पाखा सामुदायिक वन भित्र अबैध रुपमा भएको खयर तस्करी गरेका ६ जना विरुद्ध कैद सजाय र जरिवानाको माग गर्दै जेठ २ गते डिभिजन वन कार्यालयले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको छ । डिभिजन वन कार्यालय धादिङबाट चैत २८ गते प्राप्त जाहेरीका आधारमा अनुसन्धान गरी माता जलेश्वरी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष श्यामबहादुर बानियाँ, सचिव गणेशवहादुर अधिकारी, रातमाटा खोपाको पाखा सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष कमलवहादुर बानियाँ र सदस्य डिलवहादुर रुवाली लगायतका बिरुद्ध सजायको माग गरी अभियोग पत्र दायर गरिएको डिभिजन वन कार्यालय धादिङले जनाएको छ । काठ ओसारपसार तथा बेचविखन गर्ने कार्यमा सङ्लग्न व्यापारीद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्लाका मित्रलाल सारुलाई पनि सजायको माग गरी अभियोग पत्र दर्ता गरिएको छ । अभियोग दायर गरिएका मध्ये सारु द्धय फरार रहेका छन भने अरुलाई कार्यालयले पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ । डिभिजन वन अधिकृत जीवलाल पौडेलका अनुसार वन ऐन ७६ को दफा ४९ को दफा च र छ बमोजिमको सजायको माग दावी लिई जेठ २ गते डिभिजन बन कार्यालयको तर्फबाट जिल्ला अदालतमा अभियोग पत्र दायर गरिएको हो । अभियोग पत्र अनुसार माता जलेश्वरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष श्यामबहादुर बानिया, सचिव गणेश वहादुर अधिकारी खयर फडानीमा प्रत्यक्ष मिलेमतो भएको भनिएका ठेकेदारद्धय पाल्पा जिल्ला चोपपानी घर भई बुटवल बस्ने गुप्तबहादुर सारु र गुल्मी जिल्ला रुरुक्षेत्र घर भएका मित्रलाल सारुलाई वन ऐन २०७६ को दफा ५० को उपदफा (६) को च वमोजिम जनही १३ लाख ९८ हजार को दोव्वर जरिबाना र २ बर्ष कैद सजायको माग दावी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस