धादिङ ०६ जेष्ठ
धादिङको थाक्रे गाउँपालिकाका विभिन्न स्थानहरुमा मङगलबार देखि जेष्ठ ११ गते राती १२ सम्मका लागि सिल गरिएको छ । सोमबार थाक्रे गाउँपालिका वडा नम्बर ७ का एक व्यक्तिमा कोरोना भाईरस सङ्क्रमण देखिएसँगै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जेष्ठ ११ गतेसम्मका लागि सिल गरिएको हो । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका व्यक्तिले आवातजावत गरेको उनको घर तथा बस्तीका साथै पूर्वमा गोजेखोल्सा एभरेष्ट पम्प, पश्चिममा पृथ्वी राजमार्गको ८ किलो, उत्तरमा महेशखोला र दक्षिणमा उडुवादेवी आधारभूत विद्यालयभित्रको चार किल्ला शील गरिएको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिनुभयो । बैठकले आगामी जेठ ११ गते राती १२ बजेसम्म सङ्क्रमण रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उल्लेखित चार किल्ला क्षेत्रभित्र पूर्ण शिलबन्दी गर्ने, पूर्णरुपमा आवतजावत बन्द गर्ने, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपालले सुरक्षा व्यवस्था मिलाउने र माइकिङ गर्न सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै आवश्यकता अनुसार नेपाली सेनाले भेईकल पेट्रोल गर्ने लगायतका निर्णय गरेको गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीले बताउनुभयो । बैठकले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको क्लोज मनिटरिङ गर्ने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र क्वारेन्टाईनको व्यवस्था गर्ने लगायतका निर्णयसँगै एम्बुलेन्सलाई कोभिड प्रतिकार्यका लागि २४ घण्टा तयारी अवस्थामा राख्ने निर्णय भएको थाक्रे गाउँपालिकाले जनाएको छ । यो संगै धादिङमा कोरोना संक्रमितको संख्या ३ जना पुगेको छ । धादिङमा हालसम्म नेत्रवती डबजोङ गाउँपालिकाका ३३ बर्षीय पुरुष, गल्छी गाउँपालिकाकी ३० बर्षीय महिला र थाक्रे गाउँपालिकामा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएकोे छ ।
प्रतिक्रिया दिनुहोस