धादिङ ०२ जेष्ठ
धादिङको गल्छी गाउँपालिका स्थित कटुवाल पौवामा शुक्रबार देखि जेष्ठ ६ गते सम्मका लागि सिल गरिएको छ । गल्छी गाउँपालिका वडा नम्बर ८ कटुवाल पौवाकी ३० वर्षीय महिलालाई कोरोना भाईरस संक्रमण देखिएसँगै जिल्ला सुरक्षा समिति धादिङले जेष्ठ ६ गते सम्मका लागि सिल गरेको हो । बिहिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकी महिला आवातजावत गरेको गल्छी बजार लगायतका स्थानहरुमा सिल गरिएको छ । कोरोना सङ्क्रमित उक्त महिला काठमाडाँैको सतुङगलमा व्युटि पार्लर सञ्चालन गर्ने भएता पनि लकडाउन खुकुलो भएपछि उनी घर गल्छी गाउँपालिका वडा नम्बर ८ गोगनपानी आएकी थिइन् । १५ दिन सम्म घरमा बसेर पुनः काठमाडाँै फर्किएकी ती महिलालाई एक्कासी ज्वरो आउने र खोकी लाग्न जस्ता समस्या देखिन थालेपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
गल्छी गाउँपालिका वडा नम्बर ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे गरिएको हो । उल्लेखित चार किल्लाभित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनको लागि र माइकिङ गर्न सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ । सङ्क्रमित व्यक्तिसँग जोडिएका व्यक्तिलाई सम्पर्क गरी क्वारेन्टाइनमा राख्नका लागि गल्छी गाउँपालिकालाई निर्देशन दिइएको छ । सङ्क्रमित व्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरी नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र) मा पनि सजगता अपनाउन नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस