धादिङ, जेष्ठ १
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित दरिङ्गाल खोलाको पुलबाट बुधबार राती प्रहरीले एक सय किलो चरेस सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्बर २ का ३७ वर्षीय टेक बहादुर तामाङ र सोही स्थानका २६ वर्षीय विशाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो । बैशाख ३१ गते राती करिब साँढे ११ बजे २ वटा मोटरसाइकलमा चरेश सहित बिक्री वितरण गर्न आदमघाट आउँदै गर्दा उनीहरु दरिङ्गालखोलामा पक्राउ परेका हुन् । लकडाउनको समयमा पृथ्वीराजमार्ग क्षेत्रमा चरेशको विक्री वितरण भैरहेको सुचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो । चरेश विक्री वितरण गर्न प्रयोग गरेका बा ९७ प ४९९९ र प्रदेश नम्बर ३–०२–०११ प ७४५८ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धादिङले लागु औषध ओसार प्रसारमा कमी ल्याउन ठाउँ ठाउँमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेता पनि राजमार्ग क्षेत्रमा यसको कारोबार रोकिएको छैन् ।
प्रतिक्रिया दिनुहोस