धादिङ ३१ बैशाख
भारतले नेपालको लिम्पीयाधुरा तथा लिपुलेक हुदै चिनको मानसरोबर जाने सडक निर्माण गरेको तथा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई आफ्नो नक्सामा समेटेको बिरोधमा धादिङबेशीमा बिरोध ¥याली भएको छ । युवा समूह धादिङको अग्रसरतामा धादिङबेसीका युवाहरुले भारतीय विस्तारवाद मुर्दावाद, हाम्रो भूमि फिर्ता गर, लिुपलेक, लिम्पियाधुरा र कालापानी हाम्रै हो जस्ता नाराहरु लगाउँदै प्रर्दशन गरेका हुन् । पुछारबजार प्रहरी बिटबाट सुरु गरिएको बिरोध ¥याली बिचबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै युवा समूह धादिङका संयोजक राजन लम्साल, नन्द काप्री लगायतका वक्ताहरुले वार्ता र कुटनीतिक माध्यममार्फत नेपाली भूमि फिर्ताका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताएका थिए । भारतले नेपाली भूमि मिचेको बिरोधमा देशैभर प्रर्दशन भइरहेको सन्दर्भमा धादिङका युवाहरु पनि जागरुक भएका हुन् । गत शुक्रवार भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि सामाजिक सञ्जाल देखि सडकबाट चर्को बिरोध भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस