धादिङ ३० बैशाख
भारतले नेपालको लिम्पीयाधुरा तथा लिपुलेक हुँदै चीनको मानसरोबर जोड्ने सडक निर्माण गरेको तथा नेपालको लिम्पियाधुरालाई आफ्नो नक्सामा समेटेको बिरोधमा धादिङको चरौदीका युवाहरुले मङ्गलबार चरौदी बजारमा प्रर्दशन गरेका छन् । राष्ट्रवादी युवा समूह चरौँदीको संयोजनमा भएको बिरोध प्रदर्शनमा सयौ युवाहरुको उपस्थिति रहेको थियो । प्रर्दशनका क्रममा युवाहरुले कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, भारतीय बिस्तारवाद मुर्दावाद जस्ता नारा लगाउनुको साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका थिए । भारतले नेपाली भूमि मिचेको बिरोधमा देशैभर प्रर्दशन भइरहेको सन्दर्भमा धादिङका युवाहरु पनि जागरुक भएका हुन् । गत शुक्रवार भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरेपछि सामाजिक सञ्जाल देखि सडकबाट चर्को बिरोध भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस