धादिङ ३० बैशाख
धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० मा करेन्ट लागेर १६ वर्षीय किशोरीको ज्यान गएको छ । गाउँपालिकाको वडा नं. १० स्थित जयपुरीमा मङ्गलबार बारीमा मकै गोड्ने क्रममा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुँदा १६ वर्षीय विपना चेपाङको मृत्यु भएको वडा अध्यक्ष अम्बर बहादुर गुरुङले जानकारी दिएका छन् । केही दिन अगाडि आएको हावा हुरीका कारण विद्युत पोल ढलेको स्थानीयहरुले जानकारी गराउँदा पनि विद्युत प्राधिकरणले विद्युत सेवा बन्द गर्ने अथवा पोल उठाउने दुबै काम नगर्दा घटना घटेको स्थानीयको भनाइ छ । मकै गोड्ने क्रममा करेन्ट लागेकी विपना चेपाङलाई स्थानीयहरुले उपचारका लागि गजुरी अस्पताल ल्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यता विद्युत प्राधिकरण धादिङ शाखाका ध्रुव भण्डारीले प्राधिकरणकै कमजोरीका कारण घटना हुन पुगेको स्वीकार गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । पोल लत्रिएको स्थानीयले खबर गरेपछि सोमबार बनाउने तयारी रहेकोमा पानी परेपछि काम रोकिएको उनको भनाइ छ । विद्युत प्राधिकरणको कमजोरीका कारण भएको उक्त घटनाका पीडितलाई कागजी प्रक्रिया पुरा गराई ५ लाख क्षेतिपुर्ति प्रदान गरिने समेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस