धादिङ २५ बैशाख
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा ११ हजार ३ सय ९८ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको छ । गत बैशाख १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिनु भयो । बेनीघाट रोराङ गाउँपालिकाका ९७ खोप केन्द्र मध्ये वडा नं १ मा ८ सय १३ जना, वडा नं २ मा १ हजार ७ सय ९४ जना, वडा नं ३ मा १ हजार ३ सय २२ जना, वडा नं ४ मा ८ सय १६ जना, वडा नं ५ मा १ हजार ८० जना, वडा नं ६ मा ८ सय ९४ जना, वडा नं ७ मा ८ सय ९४ जना, वडा नं ८ मा ८ सय ८७ जना, वडा नं ९ मा १ हजार ३ सय ५२ जना र वडा नं. १० मा १ हजार ५ सय ४६ जना गरी कुल ११ हजार ३ सय ९ जना बालबालिकालाई खोप लगाईएको हो । गाउँपालिका भित्र ६ महिनादेखि १५ वर्षसम्मका ११ हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको भए पनि लक्ष्य भन्दा बढी खोप लगाउन सफल भएको दुवाडीले बताउनु भयो । ६ महिनादेखि २४ महिनासम्मका १ हजार २ सय ५१ जना र २५ महिनादेखि १५ वर्षसम्मका १० हजार तीन सय ८१ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य संयोजक दुवाडीले जानकारी दिनु भयो । दादुरा संक्रमण फैलिएको सात जिल्ला मध्ये धादिङमा सबै भन्दा बढी ४७ जनामा प्रकोप फैलिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत खोप सुपरभाईजर निरीक्षक श्याम प्रसाद पोखरेलले बताउनु भयो । १३ वटा स्थानीय तहहरुमध्ये धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई यो रोगको महांमारी रुपमा फैलिएको थियो । चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महांमारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भएको थियो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङ बस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य व्यक्तिहरुलाई पनि फैलिन थालेपछि सरकारले कोरोनाका कारण स्थागित गरेको खोप अभियान सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस