धादिङ २३ बैशाख
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ स्थित बाहुनटारमा बन्न लागेको क्रिकेट रंगशाला निमार्णले तीव्रता लिएको छ । समग्र खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ बाहुनटारमा १६ करोड लागतको क्रिकेट रंगशाला निर्माण हुन लागेको हो । स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार तथा बेनिघाट रोराङ गाउँपालिकाको साझेदारीमा रंगशाला निर्माणका लागि यस वर्ष रु. ५० लाख बजेटको विनियोजन भएको क्रिकेट अभियन्ता एवं बेनिघाट रोराङ ५ का खेलकुद संयोजक तथा निर्माण समितिका अनुगमन सदस्य दिपेश कँडेलले बताउनु भयो । गत सोमबार कृष्णराम कँडेलको अध्यक्षतामा निर्मार्ण उपभोक्ता समिति गठनसँगै काम तिब्र रुपमा अगाडी बढेको र रंगशाला निर्माणमा आवश्यक सामाग्रीको कोटेशन माग गरिएको कँडेलले बताउनु भयो । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले संघीय सरकार तथा गाउँपालिकाको समग्र प्रयासमा रंगशाला निर्माण हुन लागेको बताएका छन् ।
केही दिनदेखि पानी परिरहेकोले अहिले केही दिन काम रोकिए पनि तिब्र रुपमा काम भईरहेको अध्यक्ष डल्लाकोटीले बताएका छन् । धादिङकै गौरवको कुरा भन्नुपर्छ हामीले यति ठुलो क्रिकेट रंगशाला निर्माण गर्न लागेका छौँ, अध्यक्ष डल्लाकोटीले भने । बेनिघाट रोराङ गाउँपालिकालाई धादिङकै नमुना बनाएर देखाउने प्रयास गरिरहेको उहाँले बताउनु भयो । उहाँले रंगशाला निर्माणका लागि बजेट अभाव भए पनि गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँग पहल गरेर निर्माणलाई अगाडि बढाउने कार्य भैरहेको बतााउनु भयो । राजनीतिका कारण लामो समयसम्म बन्न नसकेको रंगशाला सहमतिकै आधारमा क्रिकेट मैदान बन्न लागेको दावी गरे । यस्तै क्रिकेट रंगशाला निमार्ण स्थलसम्मको सडक खन्ने काम सुरु भएको छ । १६ करोडको डिपीआरको लागतमा बन्न लागेको उक्त रंगशालासम्म सामग्री लैजान कठिनाई भएपछि शुक्रबारदेखि सडक खन्ने काम सुरु भएको थियो । उक्त रंगशाला निर्माणका लागि चाहिने आबश्यक समाग्री खरिदका लागि आफ्नो दर रेट अनुरुप ७ दिन भित्र पेस गर्न निमार्ण समितिले कोटेशन आह्वान गरीसकेको रंगशाला निमार्ण समितिका अध्यक्ष कृष्णराम कडेलले बताउनु भयो । उक्त स्थानमा रंगशाला निर्माण भएसंगै धादिङका खेलाडीहरुको मनोबल बढेको छ ।
रंगशाला निर्माणसंगै बेनिघाट रोराङ गाउँपालिका क्रिकेटमय बनेको छ । सानो उमेरका बच्चादेखि बुद्धहरुमा क्रिकेटप्रतिको मोह र चासो बढ्दै गर्दा सम्पूर्ण सरोकारवालादेखि क्रिकेट संघको ध्यान खिच्नुका साथै धादिङ क्रिकेट संघ गठन प्रक्रिया अगाडि बढ्दै गएको छ । क्षेत्रीय स्तरको क्रिकेट रंगशाला निर्माण हुनेभएसंगै धादिङका युवा खेलाडीहरु हर्सित भइ अवसरको पर्खाइमा रहेका छन् । जिल्लामै पहिलो पटक आयोजना भएको अन्तर माध्यमिक बिद्यालयस्तरीय टि २० क्रिकेट प्रतियोगिता, टि १० प्रतियोगिता, यु १६ प्रतियोगिताहरु आयोजना गर्नुका साथै फुटबल, तेक्वान्दो, लगायत अन्य खेलमा पनि उपलब्धीहरु हासिल गर्न सफल भएको थियो । धादिङको बेनिघाट रोराङ गाउँपालिका राजधानी काठमाडौं नजिकै भए पनि अहिलेसम्म जिल्ला क्रिकेट संघ गठन भएको छैन । तर स्थानीय क्रिकेट अभियन्ताहरुकै पहल र खेलाडीको रुचिका कारण पनि जिल्लामा क्रिकेट गतिविधि भने बढिरहेको छ । विद्यालयको वार्षिक कार्यक्रमहरुमा समेत क्रिकेट खेल समावेश गरिन थालिएको छ ।
प्रतिक्रिया दिनुहोस