सम्भु त्रिपाठी
धादिङ २२ बैशाख
गजुरी गाँउपालिका वडा नं २ मा रहेको तुदी झरना पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बनेको छ । कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनको समयमा उक्त झरना अवलोकनका लागि दैनिक करिब २ सय हाराहारीमा मानिसहरु आउने गरेको स्थानीयले बताएका छन् । पृथ्वी राजमार्ग स्थित मलेखुबाट करिव १० किमीको यात्रा तथा गजुरी गाँउपालिका वडा नं २ को डँुडेठाँटीवाट करिव ३ किलोमिटरको दुरीमा रहेको प्राकृतिक रुपले भरिपूर्ण तुदी झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । हाल लकडाउनका कारण स्थानीयहरु फुर्सदिला भएकाले मर्निङ वाक तथा घुमफिरकै लागि भनेर समूह समूहमा उक्त झरना अवलोकनका लागि आउने गरेका हुन् । मलेखुबाट १० किलो मिटरमा पुग्न सकिने तुदी झरना गजुरी गाँउपालिकाको डुँडेठाँटीदेखि झरनासम्म पुग्न करिव १ घण्टा पैदल यात्रा गर्नुपर्दछ । तत्कालै तुदी झर्नासम्म सडक निर्माण गर्न गाउँपालिकाले पहल गर्ने गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुङगानाले बताउनु भयो ।
आइतबार झर्नाको अवलोकन गर्नु हुँदै उपाध्यक्ष ढुङगानाले झर्नालाई पर्यटकीय हिसावले विकास गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । पर्यटकहरुको आवागमनपछि सिङ्गो गजुरी गाउँपालिका क्षेत्रको विकास हुनुका साथै विदेशी मुद्रा समेत भित्रिने बताउनु भयो । धादिङ जिल्लामा रहेका धार्मिक मठ मन्दिर तथा झर्ना प्रशस्त मात्रामा भएता पनि गजुरीको तुदी झर्नाले छुट्टै पहिचान दिएको बताउँदै बन्दा बन्दीका कारण झर्नाको भ्रमण तथा अवलोकन गर्ने नागरिकहरुको भीड लागेको उहाँको भनाई रहेको छ । गजुरी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष चुडामणी कंडेल, समाजसेवी रामहरी डल्लाकोटी र पत्रकारहरुको टोलीले अवलोकन गरेका थिए । करीब १ सय मिटर अग्लो झरनामा बाह्रैमहिना एउटै आकारको पानी देखिन्छ । चट्टानै चट्टानको बीचबाट झर्ने झरनाको वरिपरि साना साना बिभिन्न किसिमका मनमोहक ओढारहरु समेत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस