धादिङ २१ बैशाख
धादिङ जिल्लाको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा दादुरा रुवेला रोगको संक्रमण फैलिएको छ । धादिङ जिल्लामा दादुरा रुबेला रोगको ल्याव परीक्षण गर्दा ४७ जना संक्रमित भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । गत पुष महिनादेखि सुरु भएको दादुरा संक्रमण हाल धादिङ, काठमाण्डौं, चितवन, झापा, गोरखा, सर्लाही र ललितपुर गरी सात जिल्लामा यो रोगको महामारीको रुपमा फैलिएको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको तथ्याङक अनुसार दादुरा संक्रमण फैलिएको सात जिल्ला मध्ये धादिङमा सबै भन्दा बढी ४७ जनामा प्रकोप फैलिएको स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत (खोप सुपरभाईजर निरीक्षक) श्याम प्रसाद पोखरेलले बताउनुभयो । दादुरा कै कारण धादिङमा चैत्र महिनामा २ जना शिशुको मृत्यु भैसकेको छ । दादुरा संक्रमणबाट मृत्यु हुनेमा ४ महिनादेखि ४० वर्षसम्मका मानिसहरु रहेका छन् । धादिङ जिल्लाको विभिन्न स्थानहरुमा पटक–पटक ठूलो संख्यामा यो रोगको संक्रमितहरु देखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको तथ्याङक अनुसार आइतबारसम्म गजुरी र बेनिघाटका ६ महिनादेखि १५ वर्षसम्मका १० हजार बालबालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाईसकेको पोखरेलले बताउनुभयो ।
उहाँको अनुसार दादुरा–रुवेला विरुद्धको खोप धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिकामा बैशाख १७ गतेदेखि सुरु भई २३ गतेसम्म २० हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ । १३ वटा स्थानीय तहहरुमध्ये धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकाका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई यो रोग देखा परी महांमारीको रुपमा फैलिएको थियो । धादिङ जिल्लामा दादुरा रुवेला रोग महामारीको रुपमा फैलिन थालेपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको टोली गत बुधबार अनुगमन तथा उपचारको लागि धादिङमा आएको थियो । कोरोना भाइरस(कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण सुरक्षित भएर खोप लगाउन स्वास्थ्यकर्मीहरुलाई पोखरेलले आग्रह समेत गर्नु भएको छ । दादुरा रुवेला विरुद्धको खोप दिँदा सामाजिक दुरीको कायम गरी, खोप दिनु अघि बच्चाको कोरोना परीक्षण गर्ने र कुनै लक्षण देखा परेमा उपचारको लागि सुझाव दिने, खोप कार्यक्रममा सङ्लग्न व्यक्तिहरुले आवश्यक सामग्री प्रयोग गर्ने उहाँले बताउनुभयो ।
अभियानभर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने तथा भिटामिन ए र जुकाको औषधिसमेत खुवाइनेछ । खोप अभियान गजुरीमा बैशाख २३ गते र बेनिघाट रोराङ गाउँपालिकामा बैशाख २२ गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । दादुरा रोग सङ्क्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यू गर्दा र खोक्दा किटाणु हावामा फैलिएर यो रोग सर्दछ । बालबालिकाहरू समूहमा जम्मा हुने वा भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्ने भएकाले भीड–भाडमा नजान स्वास्थ्य कार्यालय धादिङले आग्रह समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस