प्रेम बहादुर तामाङ
धादिङ १८ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण उत्तरी धादिङको खनियाँबास गाउँपालिका वडा नं. २ स्थित क्युङ, थली, कन्तराङ, गोर्गाङमा खाद्यान्न अभाव भएको छ । २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण विस्थापित खनियाँबास गाउँपालिका वडा नं. २ का करिब ६० घरधुरीलाई खाद्यान्न अभाव भएको हो । आफ्नो जग्गा जमिनमा उब्जिएको अन्नले १२ महिना सम्म खान अपुग हुने र दैनिक ज्याला मजदुरी गरी परिवार धान्दै आएका अति विपन्न, असाहय तथा गरिब परिवारहरुमा खाद्यान्न सामग्री अभाव भएको छ । करिब ६० घर परिवारलाई तत्काल राहतको आवश्यक भएको भनी वडा अध्यक्ष टेक बहादुर तामाङसँग राहतको विषयमा कुरा गर्दा वडा कार्यालयमा राहत नआएकाले आफैले किनेर खानु पर्ने भनी बताएको स्थानीयहरुको भनाई रहेको छ । वडा कार्यालयले खाद्यान्न उपलब्ध गराउन नसक्ने जानकारी दिएपछि उक्त बस्तीका ६० घरधुरी खाद्यान्नको खोजीमा अन्य टोल टोलमा गई सहयोग माग्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस