धादिङ १७ बैशाख
धादिङको बेनिघाट रोराङ गाउँपालिकाले दादुरा रुबेला खोप लगाउन सुरु गरेको छ । बुधबार गाउँपालिकाको वडा नं. १ र ३ मा दादुरा रुबेला खोप लगाइएको हो । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लगाइने दादुरा रुबेला खोप विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको थियो । बुधबार गाउँपालिकाको वडा नं १ को कुन्चुरुङ, बासखर्क, सिमटार, जरुङ, ब्रोम्दी, ग्याबाटोल, लवाङ, चिम्बाङ, नाम्जीराङमा ८ सय जना बालबालिकाहरुले दादुरा रुबेलाको खोप लगाएका छन् । यस्तै वडा नं. ३ अन्तरगतको माथिल्लो ओर्बाङ, तल्लो ओर्बाङ, तिनकन्या आधारभूत विद्यालय, तिनकन्या बागेश्वरी आधारभूत विद्यालय, सलाङघाट स्वास्थ्य केन्द्र, बागेश्वरी माध्यमिक विद्यालय, राजमार्ग सामुदायिक अस्पताल, ब्राइटफ्यचर बोर्डिङ स्कुल र पाङ्ग्राजिपमा गरी कुल १ हजार २ सय ७६ बालबालिकाले दादुरा रुबेला खोप लगाएको बेनिघाट रोराङ गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिनुभयो । बुधबार २ वटा वडामा कुल २ हजार ७६ जना बालबालिकाले खोप लगाएका छन् । खोप कार्यक्रम २२ गतेसम्म सञ्चालन हुनेछ ।
धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा दादुरा रुवेलाका बिरामीहरु देखा पर्न थाले पछि स्वास्थ्य कार्यालय धादिङले दादुरा र रुबेला विरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । गाउँपालिका भित्र रहेका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुमा दादुरा रुवेला विरुद्धको रोगको सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्न बुधबार देखि खोप कार्यक्रम संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो । खोप कार्यक्रम बैशाख १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस