दिपक तामाङ
धादिङ १७ बैशाख
धादिङको गजुरी गाउँपालिका वडा नम्बर ८ मा बुधबार ३ सय ७८ जनाले दादुरा रुवेला विरुद्धको खोप लगाएका छन् । ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई लगाइने दादुरा रुबेला खोप विश्वभर महांमारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्थगित भएको थियो । बुधबार गाउँपालिकाको वडा नं. ८ अन्तरगत किरान्चोक माध्यमिक विद्यालयमा १ सय १९, सेती देवी आधारभुत विद्यालयमा १ सय ४० र रिठ्ठाबोटे आधारभूत विद्यालयमा १ सय १९ जना गरी ३ सय ७८ जनाले खोप लगाएका छन् । गजुरी गाउँपालिकामा हालसम्म १ हजार ४ सय ३० बालबालिकालाई दादुरा रुबेला खोप लगाइएको छ ।धादिङको गजुरी गाउँपालिका र बेनिघाट रोराङ गाउँपालिकामा दादुरा रुवेलाका बिरामीहरु देखा पर्न थाले पछि स्वास्थ्य कार्यालय धादिङले दादुरा र रुबेला विरुद्धको खोप कार्यक्रम सुरु गरेको हो । गाउँपालिका भित्र रहेका ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुमा दादुरा रुवेला विरुद्धको रोगको सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्न बुधबार देखि खोप कार्यक्रम संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिनुभयो । खोप कार्यक्रम बैशाख १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस