धादिङ १६ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न सङ्कटमा परेका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ स्थित सल्यानटार पौवा डिलका भूकम्पका कारण विस्थापित नागरिकहरुलाई खाद्यान्न सहयोग गरिएको छ । रेडियो बिहानी ९७.६ मेगाहर्ज र अनलाइनमार्फत उक्त विस्थापित शिविरमा खाद्यान्न अभाव भएको समाचार प्रकाशन तथा प्रशारण गरेपश्चात समाजसेवी दिनेश तामाङको सक्रियतामा विभिन्न दाताहरुमार्फत उक्त वस्तिका २५ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो । प्रदेश सांसद जगत सिंखडा, समाजसेवी तथा लोक गायिका हाल सियटल वासिङटन संयुक्त राज्य अमेरिकामा बस्ने सीता गुरुङ,समाजसेवी दिनेश विष्ट र धादिङ उद्योग वाणिज्य संघको समेत सहयोगमा उक्त वस्तिमा खाद्यान्न सहयोग गरिएको हो । प्रत्येक परिवारलाई ३० किलो चामल, तेल, दाल, नुन लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।खाद्यान्न सहयोग कार्यक्रममा विस्थापित शिविरका नागरिकहरुसँग प्रदेश सांसद जगत सिंखडाले भूकम्प विस्थापित उक्त शिविरको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न आफूले निरन्तर पहल गर्दै आएको बताउदै अझै शसक्त ढङ्गले भूकम्प पुर्न निर्माण प्राधिकरण, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकासँग समन्वय गरेर समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
२०७२ सालको भूकम्पका कारण विस्थापित भएको साविकको लापा गाविसको कपुर गाउँबाट ३५ घर धुरी बस्दै आएको भएता पनि हाल उक्त पौवा डिल बस्तीमा बसोबास गदै आएका २५ घरधुरीलाई खाद्यान्न अभाव भएको थियो । घर बाहेक आफ्नो खेती गर्ते जग्गा जमिन नभएपछि दैनिक ज्याला मजदुरी गर्दै आएका उनीहरु लकडाउन जारी भएसँगै गरिराखेको काम समेत ठप्प भएपछि उनीहरु थप समस्यामा परेका हुन् । करिब १५ दिन अगाडि त्रिपुरा सुन्दरी गाउँपालिकाले उक्त बस्तीमा केही समयका लागि खाद्यान्न सहयोग गरेको थियो । गाउँपालिकाले वितरण गरेको खाद्यान्न सकिएपछि सो वस्तिका नागरिकहरु थप समस्यामा परेका थिए । विभिन्न दाताहरुमार्फत खाद्यान्न सहयोग प्राप्त गरेपछि विस्थापित शिविरका नागरिकहरुले धन्यवाद ज्ञापन गरेका छन् ।
भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस