धादिङ १५ बैशाख
धादिङ उद्योग बाणिज्य संघले आम नागरिकहरुको लागि अतिआवश्यक पर्ने तरकारी तथा फलफुल पसलहरु बैशाख १६ गते देखि बिहान ७ देखि १० बजेसम्म खुल्ला अनुरोध गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले गरेका निर्णयहरुलाई कार्यान्वयन गराउनका लागि जिल्लास्थित विभिन्न व्यवासायिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकले सो निर्णय गरेको हो । बैठकमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, धादिङ चेम्बर अफ कमर्सका अध्यक्ष गोविन्द कुमार श्रेष्ठ, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष ठाकुर बुर्लाकोटी लगायतका १४ वटा भन्दा बढी संघ संस्थाका प्रमुख प्रतिनिधिको सहभागिता थियो । बैठकले तरकारी तथा फलफुल पसलहरु बाहेक अन्य पसलहरु भने पुर्ण रुपमा बन्दा रहने निर्णय गरेको हो । धादिङबेसी प्रवेश गर्ने फुर्केखोला, गोरखा जिल्लासँग सिमाना जोडिएको आरुघाट, घाटबेसी, बुङचुङ र नुवाकोट जिल्ला जोडिने सामारी र गल्छी जस्ता सिमानामा आवागमनमा थप कडाई गरिने समेत निर्णय भएको छ । यस्तै विकास निमार्णसँग सम्बन्धित आयोजनाहरु, दैनिक अत्यावश्यक उपभोगका खाद्यबस्तु उत्पादन गर्ने उद्योगहरु, पशुपंक्षी तथा दाना उत्पादन उद्योगहरु, इट्टाभट्टाहरुमा काम गर्ने व्यक्तिहरुलाई भौतिक दुरी कायम गरी कार्य सञ्चालन गर्न सकिने निर्णय भएको छ । बैठकले स्वास्थ्य सामग्रीको लागि सबै पालिकाका स्वास्थ्य केन्द्रमा ज्वरो नाप्ने मेसिनको व्यबस्था गर्न अनुरोध गर्ने, कृषकहरुको लागि आवश्यक पर्ने मल विउ सहज रुपमा उपलब्बध गराउने व्यबस्था गर्ने र कक्षा १ देखि ९ सम्मको परीक्षाफल प्रकाशन र नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तकको व्यबस्थापन गर्न स्थानीय तहसँग समन्वय गर्न शिक्षा विकास तथा समन्वय ईकाई समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस