धदिङ १३ बैशाख
विश्वभर महांमारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले जारी गरेको लकडाउनका कारण खाद्यान्न अभाव भएको धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ४ मा रहेको नमूना बस्तीमा शनिबार खाद्यान्न वितरण गरिएको छ । अमेरिकामा बसोबास गर्दै आएका आशिष योञ्जनको आखे माम परिवारको मुख्य सहयोग तथा प्रदेश सांसद जगत सिंखडाको समेत सहयोगमा उक्त नमूना बस्तिमा बस्दै आएका २५ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो । दैनिक ज्याला मजदुरी गर्दै जीविको पार्जन गरिरहेको २५ घरपरिवार लकडाउनका कारण खाद्यान्न समस्यामा परेको समाचार रेडियो बिहानीले रेडियो, अनलाइन र युट्युबमार्फत प्रकाशन तथा प्रशारण गरेपश्चात तत्कालै सोही बस्ती निर्माता दिनेश तामाङको मूख्य पहलमा खाद्यान्न सङ्कलन गरी वितरण गरिएको हो ।
२५ घरपरिवारलाई १/१ बोरा चामल, २/२ किलो दाल, १/१ किलो नुन, २/२ लिटर तेल समेत वितरण गरिएको छ । २०७२ सालको भूकम्पका कारण विस्थापित भएको साविकको लापा गाविसको कपुर गाउँ र नेबेरका ५५ घर धुरी समाजसेवी दिनेश तामाङको अगुवाइमा पक्की ४ कोठे घर निर्माण गरेपश्चात त्यहाँ बसोबास गर्दै आएका छन् ।
अमेरिकामा बसोबास गर्दै आएका सहयोगी आखेमाम परिवार
घरमात्रै भएको र खेतीपाती गर्नको लागि जग्गा जमिन नभएकाले दैनिक ज्याला मजदुरी नै उनीहरुको आयस्रोत रहेको थियो । खाद्यान्न सहयोग पाएपछि बस्तीका नागरिकहरु अत्यन्तै खुसी भएर सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस