धादिङ २७ बैशाख
स्वास्थ्य सेवाबाट बञ्चित नागरिकहरुलाई सरकारले सहयोग गर्नुपर्ने प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ । सरकार जनताप्रति उत्तरदायी नभएसम्म देशको समग्र विकास सम्भव नहुने भन्दै मन्त्री जम्कट्टेलले गरिब, अपाङ्ग, गलित पिछडिएका वर्गको सेवालाई मूल प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । श्रमिक, सर्वहारा, गरिब निमुखाको राज्य भएको भन्दै उहाँले आम नागरिकको स्वास्थ्य सेवालाई प्रहिलो प्राथमिकतामा राखेर धादिङमा पनि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम ल्याएको बताउनु भयो । शुक्रबार धादिङस्थित जिल्ला अस्पतालको प्राङ्गणमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रमको उद्घाटन भएको छ । जिल्ला अस्पताल विकास समिति धादिङका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सदस्य खेम प्रसाद लोहनी, नेकपा नेता गुरु बुर्लाकोटी, विजय बुर्लाकोटी, काङ्ग्रेस धादिङका सभापति रमेश धमला, पुर्व सभापति रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरगथ पाण्डे लगायतको विशेष आतिथ्यता रहेको थियो । प्रदेश नं. ३ सरकारले धादिङ सहित अन्य ४ जिल्लामा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ ।
नीलकण्ठ नगरपालिकाभित्रका करिब २ हजार नागरिकको स्वास्थ्य परीक्षण गर्ने लक्ष्यका साथ सुरु भएको कार्यक्रममा नगरपालिकाभित्रका नागरिकहरुले वडा कार्यालयको सिफारिसमा निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउने छन् । ३० वर्षभन्दा बढी उमेर भएका, विपन्न वर्गका, दलित, अपाङ्ग, असहाय, शहिद तथा व्यपत्ता परिवार, घाइतेहरुलाई पहिलो प्राथमिकतामा राखेर परीक्षण गराइने मापदण्ड जिल्ला अस्पताल धादिङले बनाएको छ ।
यसैबीच स्वास्थ्य कार्यालय धादिङको पनि उद्घाटन मन्त्री जम्कट्टेलले गर्नुभएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगत सबै जिल्लामा स्वास्थ्य कार्यालय रहने निर्णय भए अनुसार यही वैशाखबाट जिल्लामा स्वास्थ्य कार्यालयको रुपमा सञ्चालन भइरहेको छ ।
तस्बिर : प्रताप तामाङ
प्रतिक्रिया दिनुहोस