धादिङ बैशाख १३
विभिन्न समयमा विबादमा आइरहेका नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना पुनः बिबादमा तानिएका छन् । नगरकार्यपालिकाको निर्णय विपरित काँग्रेस निकट पत्रकारहरुलाई मात्र २५ थान पीपीई हस्तान्तरण गरेसँगै ढुङ्गाना बिबादमा तानिएका हुन् । नीलकण्ठ नगरपालिकाको चैत्र २३ गते सम्पन्न कार्यपालिकाको बैठकले १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गर्दै उक्त कोषमा जम्मा भएको रकमबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खाना र खाजाको प्रवन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मी, जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकता अनुसार सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयलाई टेकेर ढुङ्गानाले शुक्रबार नेपाली काँग्रेस निकट पत्रकारहरुको संस्था प्रेस युनियनलाई २५ थान पीपीई प्रदान गरेका हुन् ।
नीलकण्ठ नगरपालिका जिल्लाको सदरमुकाम रहेको नगरपालिका हो । जिल्लाका अधिकांश पत्रकारहरु नगरपालिकाभित्र नै बसोबास गरेर आफ्नो रिपोर्टिङ गरिरहेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय नीलकण्ठ नगरपालिकाभित्रै रहेको छ । तर पत्रकार महासँघसँग पनि कुनै समन्वय नगरी अरु पत्रकारहरुलाई कुनै सुचना नदिइ एकलौटी रुपमा बिभेदपूर्ण ढङ्गले काङ्ग्रेस निकट पत्रकारको संस्था प्रेस युनियनलाई मात्र उक्त स्वास्थ्य सामग्री बाढिनु ढुङ्गानाको राजनैतिक पूर्वाग्रह प्रष्ट देखिन्छ ।
सोही विषयमा नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्मासँग बुझ्दा हामीसँग कुनै छलफल र समन्वय नभइकन उक्त कार्य गरिएको बताउनु भयो । यता प्रेस सङ्गठन धादिङका अध्यक्ष राजन अधिकारीले नगर प्रमुख भिम ढुङ्गानाले राजनीति गरेको बताउदै यस्ता गलत कार्य तत्काल बन्द गर्दै जनताको प्रतिनिधि बन्न आग्रह गर्नुभयो । नगरपालिकामा बहुमत कार्यपालिका सदस्य काङ्ग्रेसबाट बिजयी भएका छन् । यही दम्भका आधारमा ढुङ्गानाले नेकपाबाट निर्वाचित उप मेयरलाई समेत कुनै जानकारी नदिइ विभिन्न निर्णयहरु गर्दै आएका छन् ।
हालसालै ढुङ्गाना कोरोना भाईरसको सङ्क्रमण रोक्न सरकारले लागु गरेको लकडाउनमा खाद्य सङ्कट परेका परिवारहरुलाई नीलकण्ठ स्कुलमा सामुहिक मेस सञ्चालन गरी विवादमा तानिएका थिए । सामाजिक दुरी कायम गर्नुपर्ने र घरबाट बाहिर ननिस्कन संघीय सरकारको आव्हान उल्लङ्घन गरेको भन्दै जिल्ला प्रशासनले मेसका सबै भाँडा कुडा उठाएपछि मेस बन्द भएको थियो । हालसम्म पनि नीलकण्ठ नगरपालिकाले मजदुर तथा विपन्न परिवारलाई राहत वितरण गर्न सकेको छैन । भाषणमा यो गर्छु र ऊ गर्छु भन्दै आश्वासन मात्रै बाढ्दै हिडेका ढुङ्गानको कार्यशैलीप्रति उनकै पार्टीभित्र पनि तिब्र बिरोध हुने गरेको छ । उनकै पार्टी निकट प्रेस युनियनका पत्रकारहरुले ढुङ्गानको कमजोरी खोजी खोजी सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण गर्न थालेपछि ढुङ्गानाले प्रेस युनियनको मागलाई एकपछि अर्को गर्दै पुरा गर्दै गएको काङ्ग्रेस निकट स्रोत दाबी गर्दछ ।
तस्बिरःसामाजिक सञ्जाल
चैत्र २३ गते सम्पन्न कार्यपालिकाको बैठकका निर्णयहरु यस्ता थिए ।
१. विश्ववापी रुपमा फैलिइरहेको कोभिड–१९ (नोबेल कोरोना भाइरस) रोकथाम नियन्त्रण, सचेतना तथा आवश्यक ब्यवस्थापनका लागि नीलकण्ठ नगर कार्यपालिकाको आज बसेको बैठकले १ करोड रुपैयाँको “कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गरेको छ ।
यस कोषबाट आवश्यकता अनुसारको औषधी, सामाग्री खरिद, क्वारेन्टाइनमा राखिएका तथा आइसोलेसनमा राखिएका ब्यक्तिहरुको खानारखाजाको प्रवन्ध, कोरोना संक्रमित नगरबासीको निःशुल्क उपचार, नगरका सवै स्वास्थकर्मीहरुलाई ब्यक्तिगत सुरक्षा सामाग्री उपलब्ध गराइनेछ भने जिल्लाका सुरक्षाकर्मी, पत्रकार, एम्बुलेन्स चालक र फोहोरमैला ब्यवस्थापनमा खटिने जनशक्तिलार्ई आवश्यकताअनुसार सुरक्षा सामाग्री (पीपीई) उपलब्ध गराइनेछ ।
कोषमा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुबाट १ लाख १४ हजार रकम जम्मा गरिएकोछ । नगरपालिका अन्तरगतका सम्पूर्ण कर्मचारीहरु (स्वास्थ्यकर्मी र शिक्षकहरु समेत) ले केन्द्र सरकारको निर्णय अनुसार रा. प. द्वितीय र तृतीय श्रेणी वा सो सरहका कर्मचारीहरुको पाँच दिनको र सहायकस्तर र श्रेणीविहिन कर्मचारीहरुको तीन दिनको तलव बराबरको रकम जम्मा गर्नुका साथै उक्त कोषमा सहयोग स्वरुप रकम जम्मा गर्न चाहने व्यक्ति तथा संघसंस्थालाई सहायता रकम जम्मा गर्न आह्वान गर्ने समेत निर्णय भएकोछ ।
२. महामारीका बेला नगरक्षेत्रमा आर्थिक तथा भौतिक सहायता गर्न चाहने ब्यक्ति वा संघ संस्थालाई नगरकार्यपालिका संग अनुमति लिएर मात्र गर्ने गरि एकद्धार प्रणाली लागू गर्ने निर्णय भएकोछ ।
३. लकडाउनका कारण अप्ठेरोमा परेका नगरक्षेत्रका श्रमिक, असहाय तथा रोजीरोटीको समस्या भएका ब्यक्तिहरुलाई १४ वटै वडामा संकलित विवरणको आधारमा विहान बेलुका निःशुल्क भोजनको ब्यवस्था गर्ने निर्णय गरेकोछ । आवश्यक खाद्यान्न तथा अन्य प्रवन्ध गर्न नगर विपद ब्यवस्थापन समितिका संयोजक विष्णु नेपालीको संयोजकत्वमा स्वास्थ संयोजक र लेखा प्रमुख सदस्य रहेको ३ सदस्यीय कार्यदल समेत गठन गरिएकोछ । लक्षित श्रमजिवी तथा असहायहरुलाई खाद्यान्न उपलब्ध गराउन चाहने ब्यक्ति तथा संघ संस्थालाई उक्त कार्यदल मार्फत सहयोग गर्न अपिल गर्ने निर्णय समेत आजको बैठकले गरेकोछ ।
४. लकडाउनको अवधीको असहज परिस्थितिमा सार्वजनिक विदाका दिनहरुमा समेत निरन्तर काममा खटिने स्वास्थ्यकर्मीहरु, दैनिक कार्यालयमा आई कामकाज गर्ने कर्मचारीहरु (करारमा कार्यरत समेत) र फोहोर व्यवस्थापनमा कार्यरत जनशक्तिलाई मासिक खाइपाई आएको तलव÷पारिश्रमिकको पचास प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलव्ध गराउने निर्णय भएकोेछ ।
५. विदेशबाट आएका व्यक्तिहरुलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्न आव्हान गर्ने ।
प्रतिक्रिया दिनुहोस