धादिङ ११ बैशाख
धादिङ जिल्लामा ५ सय २९ जनाको र्यापिड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गरिएको छ । रोजगारीको शिलशिलामा भारत दुवै, जापान, कतार लगायत अन्य मुलुकबाट नेपाल आएका नागरिकहरुको स्वास्थ्य परीक्षण अन्तर्गत आरडीटी किटमार्फत र्यापिड टेस्ट गरिएको हो । बागमती प्रदेश, स्वास्थ्य निर्देशनालयबाट धादिङ जिल्लाको लागि प्राप्त भएको ७ सय ६० वटा र्यापिड टेस्ट किटमध्ये १३ वटै स्थानीय तहहरुमा परीक्षण गराएको स्वास्थ्य कार्यालय धादिङका माहांमारी सम्पर्क व्यक्ति दिपक अछामीले बताउनु भयो । स्वास्थ्य कार्यालय धादिङले दिएको बुधबार सम्मको तथ्याङ्क अनुसार जिल्लाको १३ वटा स्थानीय तहहरुमा र्यापिड टेस्ट गरिएको छ । जसमध्ये धुनीबेसी नगरपालिकामा २०, गजुरी गाउँपालिकामा ३८, गल्छी गाउँपालिकामा ५३, बेनिघाट रोराङ गाउँपालिकामा ३२, नेत्रावती डबजोङ गाउँपालिकामा ४०, त्रिपुरासुन्दरी गाउपालिकामा ५७, गङगाजमुना गाउँपालिकामा ३९, सिद्धलेक गाउँपालिकामा २०, थाक्र्रे गाउँपालिकामा ३०, खनियाँबास गाउँपालिकामा ५, ज्वालामुखी गाउँपालिकामा १ सय २८ र नीलकण्ठ नगरपालिकामा ५० जनाको परीक्षण गरिसकिएको छ भने रुवीभ्याली गाउँपालिकाको रिपोर्ट आउन बाँकी रहेको छ । अछामीले धादिङ जिल्लामा संक्रमितहरुको सङ्ख्या बढेसँगै ७ सय ६० वटा किट प्राप्त भएकोमा ५ सय २९ किट परीक्षण गरिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस