धादिङ ११ बैशाख
सरकारले जारी गरेको लकडाउनका कारण काठमाडौँमै अलपत्र परेका धादिङका मजदुर, विद्यार्थी तथा नागरिकहरुलाई आफ्नो घरसम्म पुर्याउनका लागि प्रदेश सांसद जगत सिंखडा खटिएका छन् । समस्यामा परेका जिल्लाका नागरिकहरुलाई घर पठाउनको लागि सांसद सिंखडा राती अबेरसम्म काठमाडौँ माछापोखरीस्थित बसपार्कमै खटिएका थिए । बुधबारमात्र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका लगायतका नागरिकहरुलाई १४ वटा गाडीमा करिब ६ सयको हाराहारीमा उद्धार गरिएको सांसद सिंखडाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालय धादिङको समन्वयमा यातायात पास बनाइ सुरक्षित रुपमा काठमाडौँमा समस्यामा परेका धादिङका उत्तरी क्षेत्र लगायतका मजदुर र विद्यार्थीहरुलाई उद्धार गरी घर पठाइएको हो । सांसद सिंखडाले गाडीमा प्रवेश गर्ने सबै मजदुर तथा यात्रुहरुलाई निःशुल्क मास्क समेत वितरण गरेका थिए । ग्रामीण यातायात सहकारी संस्थाको १४ वटा गाडीमा समस्यामा परेका धादिङका नागरिकहरुलाई उद्धार गरिएको र अरु थप नागरिकहरुलाई उद्धारको पहल भैरहेको समेत सांसद सिंखडाले बताउनु भयो । लकडाउनका कारण काठमाडौँमा दैनिक ज्याला मजदुरी गर्ने र विद्यार्थीहरु विशेष समस्यामा परेका थिए । उनीहरु आफ्नो घर जान पाउदा अत्यन्तै खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस